काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तले सांसद कोमल वलीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नायिका वर्षा शिवाकोटीले पनि बोलेकी छिन् । उनले महिलाहरु सफल हुँदा गलत मानसिकताले बोल्नेहरु समाजमा रहेको भन्दै आलोचना गरेकी छिन् ।
आज सामाजिक सञ्जालमा लेख्दै वर्षाले महिलाहरु चार पर्खाल बाहिर निस्कदा शारीरिक हिंसा, चरित्रहत्याको डर भइरहने उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्ः ”तिम्रो राजनीति म बुझ्दिन अनि बुझ्दिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लान्छना किन लगाइन्छ । तर यती बुझ्छु, बर्षौं भान्साकाे चार पर्खाल भित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पिडा हुन्छ। शारीरिक हिंसा, दुर्-व्यवहार र चरित्रहत्याको डर सधैँ भइरहन्छ।
माधव नेपाल निकट मानिने नेकपा नेता रघुजी पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’ यसले उनको सर्वत्र आलोचना भएको थियो । कलाकारहरुले पन्तको अभिव्यक्तिप्रति आपत्ती जनाइरहेका छन् । पन्तले भने अभिव्यक्तिप्रति माफी मागेका छन् ।