‘मधुमेह शरीरमा लागिसकेपछि पनि कति समयसम्म थाहा नपाई हामी रहिरहन सक्छौँ ?’ ‘क्वोरा डाइजेस्ट’ मा करोलाइन मेरिटले जीवनोपयोगी लेखेकी छन्, ‘मेरो एउटा निजी अनुभव छ- मेरा ५५ वर्षका पिता स्वास्थ्यमा कुनै समस्या नदेखिएको हुनाले डाक्टरलाई किन पैसा तिर्ने भनेर नियमित चेक गराउनु हुन्थेन । ५६ वर्ष पुगेपछि हिउँदमा बाहिर हिंड्दा उहाँ हिउँमा चिप्लेर लड्नुभयो र जोर्नी फ्र्याक्चर भएछ । उहाँलाई एम्बुलेन्समा राखेर तुरुन्त अस्पतालको इमर्जेन्सीमा लग्यौं । एउटा रुटिन ब्लड टेस्ट गरियो (इमर्जेन्सीमा सबैको गरिन्छ) अनि थाहा पाइयो उहाँको ब्लड सुगर ५०० भन्दा बढी पुगेको रहेछ । (नर्मल भनेको ७० देखि ११० सम्मको हुन्छ) । उहाँलाई तुरुन्त इन्सुलिन दिइयो तर दु:खका साथ भन्नु पर्दा- अनियन्त्रित मधुमेहले गर्नु नगर्नु गरिसकेको रहेछ । ६२ वर्ष पुगेपछि उहाँलाई हर्ट अट्याक भयो र ट्रिपल बाइपास गर्नु आवश्यक भयो । बाइपास भनेको एउटा ठूलो रक्तनली खुट्टाबाट निकालेर मुटुको कम्जोर क्षतिग्रस्त रक्तनलीमा राख्ने काम हो ।
अपरेसन गरिसकेपछि डाक्टर साहेबले भन्नुभयो कि वर्षौंको अनियन्त्रित मधुमेहले पिताको खुट्टाको रक्तनली यस्तरी बिगारेको रहेछ कि त्यसमा कामलाग्ने रक्तनली पाउनै गाह्रो भएछ । पितामा मधुमेह धेरै वर्षदेखि रहिआएको हुनुपर्छ भनेर डाक्टर साहेबले अनुमान लगाउनुभयो । डाक्टर साहेबको आफ्नै भाषामा भन्ने हो भने मेरा पिताको खुट्टाका रक्तनलीहरू काम नलाग्ने म्याकारोनीजस्तै तान्द्राङतुन्द्रुङ छोयो कि खसिहाल्ने खालको थियो ।
मेरा पिता ती झाराझुरे क्षतिग्रस्त रक्तनलीको कारण अप्रेसन गरेको एक वर्षभित्रै बित्नुभयो । मेरा पितासँग मधुमेहको कुनै लक्षण कहिल्यै देखिएन तर यदि उहाँले बेला बेला डाक्टरलाई जँचाउँदै आएको भए त्यो पहिल्यै थाहा पाइन्थ्यो र अझ धेरै वर्ष बाँच्न सक्नु हुने थियो । कुनै लक्षण नदेखिँदैमा मानिस स्वस्थ हुँदैन । नियमित चेकजाँचले जीवन बच्न सक्छ ।’