काठमाडौं, फागुन १९ । सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि संसद् भवन अवलोकन गरेका छन् । विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने संसद् बैठको मिति नजिकिँदै जाँदा सभामुखको सक्रियता पनि बढेको छ ।
उनले मंगलबार प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गरेका हुन् । संसद् भवन नयाँबानेश्वरको अवलोकनपछि सभामुख सापकोटाले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताएका छन् ।
‘सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको हो, संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गरिन्छ’, उनले भने– ‘केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको छ ।
’राजनीतिकरुपमा दुई धारमा नेकपा विभाजन भए पनि कानुनीरुपमा अझै पनि निर्वाचन आयोगले आधिकारिकता नदिँदा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्षीय नेकपा र प्रचण्ड–नेपालपक्ष नेकपाबीच टकराब हुने देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।