काठमाडौं, १९ फागुन । सांसदहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् । आजबाट उनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन लगाउन थालेका हुन् । संसदको बैठक यही फागुन २३ गते अपरान्ह ४ बजे बस्दैछ । बैठकमा सहभागी हुनको लागि सांसदहरुलाई अनिवार्य रुपमा खोप लगाउन भनिएको छ ।
सोहीअनुसार आज सिभिल अस्पतालमा सभामुख अग्नि प्रसाद सापकोटादेखि नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालसम्मले भ्याक्सिन लगाएका छन् । खोप लगाएर मात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।