काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।
बैठकले दलहरूसँग सहकार्य गर्ने विषयमा निर्णय गर्न स्थायी कमिटी र सचिवालयलाई अधिकार प्रत्योजनसमेत गरेको छ । ‘अब छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लान्छौं, छलफल गर्दा प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौं । लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौं । हामीले आगामी सरकारको नेतृत्वबारे पनि छलफलका लागि खुला रहने निर्णय गरेका छौं,’ रावलले भने ।
केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङसहित ६ नेतालाई कारबाही गरेको छ । नेकपा ओली समूहमा रहेका नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ भने अन्य नेताहरूलाई केन्द्रीय कमिटीबाट निष्कासन गर्ने निर्णय भएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधान उल्लंघन गरेकोमा नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिएको छ । नागरिक दैनिकबाट