Logo

सिमेन्टको प्याकेजिङ साइज घटाउन परेन आवेदन



काठमाडौं, फागुन २३ । सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् ।

सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न चाहेको र माग गर्दै आएको भए पनि सिमेन्ट उद्योग कम्पनीहरूले सानो परिमाणको प्याकेजिङ साइजका लागि आवेदन दिएका छैनन् । हाल नेपाली बजारमा सिमेन्टको प्याकेजिङ साइज ५० किलोग्राम (केजी) मात्रै छ ।

नीतिगत व्यवस्था नहुँदा सानो परिमाणको प्याकेजिङ साइजमा उद्योगीहरूले सिमेन्ट बजारमा ल्याउन पाएका थिएनन् । सरकारले नियमावली बनाएर राजपत्रमा प्रकाशित गरेको ९ महीना बित्दा पनि कुनै उद्योगले कम परिमाणको प्याकेजिङ साइजका लागि आवेदन नदिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी गत जेठमै राजपत्रमा सूचना प्रकाशित भइसकेको भए पनि अहिलेसम्म एउटा पनि प्याकेजिङ साइजका लागि निवेदन नपरेको बताए ।

हाल नेपाली बजारमा प्रतिबोरा ५० किलोग्राम (केजी) परिमाणको प्याकेजिङ साइजमा सिमेन्ट विक्री हुँदै आएको छ । प्याकेजिङ साइज निर्धारण नहुँदा सानो परिमाणका सिमेन्टका बोराहरू उत्पादकहरूले उत्पादन गर्न पाएका थिएनन् ।

स्ट्यान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली गत जेठ ५ गते सरकारले राजपत्रमा प्रकाशित गरेको थियो । त्यसअनुसार ५० केजीका साथै उत्पादकहरूले क्रमशः ५, १० २०, २५ केजी परिमाणका सिमेन्टका बोरा बजारमा ल्याउन सक्ने व्यवस्था रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्