वालिङ, २५ फागुन: भिरकोट–८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले शुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै गत असोजबाट शुरु गरिएको सेवाले स्थानीय औधि खुशी भएका हुन् ।
सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिँदै आएको स्वास्थ्यचौकीका प्रमुख दीपेश नेपालीले जानकारी दिए । “ग्रामीण भेगमा रहेका महिलालाई लक्षित गरी टेलिमेडिसिन सेवाको शुरुआत गरेका हौँ”, उनले भने, “अहिले यो सेवा निकै प्रभावकारी बन्दै गएको छ भने घरमै बसेर पनि सेवा लिन सक्ने अवस्था बनेकाले सहज भएको छ ।”
सेवाका लागि भिरकोट नगरपालिका र आइपास नेपालबीच सम्झौता भएको उनले बताए । नगरभित्र रहेका ५२ महिला स्वास्थ्य स्वयंसेविका र अनमीलाई अभिमुखीकरण गरेपश्चात् गत गत असोज ६ गतेबाट टेलिमेडिसिन सेवाबाट सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको शुरुआत गरिएको हो ।
“प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहने गरी १७ जनालाई छनौट ग¥यौँ”, उनले भने, “महिला स्वयंसेविकाहरुसँग गर्भ रहेका महिलाहरुले टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइपलगायत माध्यमहरुको प्रयोगबाट कुराकानी गर्ने र अनिच्छित गर्भपतन गर्न चाहेमा सुरक्षित गर्भपतन गराउने व्यवस्था मिलाउने कार्य हुँदै आएको छ ।”
सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत खिलुङ स्वास्थ्य चौकीमा नौ हप्तासम्मको महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । “टेलिमेडिसिन सेवा ग्रामीण भेगका महिलाहरुका लागि बढी प्रभावकारी बनेको छ”, प्रमुख नेपालीले भने, “स्वास्थ्यचौकीसम्म आउन नभ्याउने वा अझ बढी गोपनीयताका कारण घरबाटै सेवा लिनेहरु बढ्दै गएका छन् भने घरमै बसेर आवश्यक परामर्श पाउने भएकाले पनि सेवाग्राहीहरु निकै खुशी देखिन्छन् ।”
सेवा सञ्चालनका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, सञ्चार खर्चको व्यवस्था, महिला स्वयंसेविकाको मासिक खाजा खर्चको व्यवस्था, गर्भपतन गराउनेहरुका लागि आवश्यक औषधि तथा सामग्रीको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए । यसको प्रयोगले सेवाको पहुँच विस्तार र सुनिश्चितता भएको छ भने प्रविधिको प्रयोग पनि बढ्दै गएको उनको भनाइ थियो ।-रासस/File Photo