काठमाडौं, फागुन २६। नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गरेकी हुन् । त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक फरक कथा रहेको बताईन् ।
तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उनको भनाई छ । नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
सो पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गरेका छन् उनले भने, “एसिड आक्रमणको पीडालाई सङ्घर्षमा बदल्दै सो पुरस्कारबाट सम्मानित भएकी हाम्री छोरी मुस्कानलाई सरकार र सम्पूर्ण जनताको तर्फबाट बधाई ज्ञापन गर्दछु ।”
तेजाब आक्रमण जस्तो जघन्य अपराध बेलैमा नियन्त्रण गर्न नसके यसले भयावह रूप लिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसविरुद्ध कानुन ल्याउन सघाएकाहरूको सराहना गरे
नेपालले तेजाब आक्रमणमा कठोर सजाय र बिक्री वितरणमा समेत कडाइ गरेको प्रधानमन्त्रीको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।