काठमाडौं, फागुन २७ । ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको थपिएको म्यादमा पनि स्वामित्व हस्तान्तरण प्रक्रिया नटुंगिएपछि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावरबीच भएको अन्तरिम सम्झौताको म्याद आगामी साउन मसान्तसम्म थप गरिएको छ । यसअघि भएको अन्तरिम सम्झौताको म्याद माघ मसान्तसम्म थियो ।
तर, त्यस अवधिमा स्वामित्व हस्तान्तरणको प्रक्रिया नसकिएपछि ६ महीना म्याद थप गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम सम्झौताको म्याद आगामी साउन मसान्तसम्म थपिएको जानकारी दिए ।
फागुन १ गतेदेखि नै लागू हुनेगरी प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच अन्तरिम सम्झौताको म्याद थप गर्ने सहमति भएको हो । अन्तरिम सम्झौतामा स्वामित्व हस्तान्तरण नभएसम्म आयोजनाको विद्युत् प्राधिकरणले प्रतियुनिट २ रुपैयाँमा किन्ने व्यवस्था छ ।
गत असारदेखि कम्पनीसँग भएको पीपीए, आयोजना सञ्चालनसम्बन्धी सहमतिको म्याद पनि सकिएको थियो । त्यसपछि कम्पनी र प्राधिकरणबीच स्वामित्व हस्तान्तरण नहुने बेलासम्मका लागि अन्तरिम सम्झौता गरेर यो आयोजना सञ्चालनमा ल्याइएको हो ।
हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको यो निजीक्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपालको बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको समेत लगानी छ ।
तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुनेगरी सम्झौता गरिएको थियो । आयोजनाबाट विद्युत् उत्पादन भएको गत असार २७ गते नै २० वर्ष पुगिसकेको छ । त्यसअनुसार असारदेखि नै आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व निःशुल्क रूपमा प्राधिकरणमा आउनुपर्ने थियो । अबको ३० वर्षपछि भने आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको हुनेछ ।
गत वर्षदेखि शुरू भएको कोरोना महामारीका कारण स्वामित्व हस्तान्तरण प्रक्रियामा ढिलाइ भएको पाइएको छ । पहिलो म्यादभित्रै स्वामित्व हस्तान्तरणको प्रक्रिया नसकिएछि माघ मसान्तसम्मका लागि अन्तरिम सम्झौता गरेर आयोजना सञ्चालन गरिएको थियो । तर, माघसम्म पनि यसले पूर्णता नपाएपछि अन्ततः अन्तरिम सम्झौताको म्याद नै थप गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।