काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित् दलको कार्यालयमा जारी बैठकले दलको नेता चयन गर्ने तयारी गरेको छ । दलको नेतामा अध्यक्ष महन्थ ठाकुरलाई नै चयन गर्ने सम्भावना रहेको एक सांसदले जनाए । पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सत्ता सहकार्यको लागि जसपाका नेताहरुसँग छलफल अघि बढाएका छन् । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि जसपाका नेताहरुसँग दुई चरणमा छलफल गरिसकेका छन् । तर, जसपाका नेताहरुले आफूहरुले सत्तामा जानको लागि मात्रै वार्ता नगरेको भन्दै मुद्दा सम्बोधन भएमात्रै सहकार्य गर्न सकिने जवाफ दिँदै आएका छन् ।
आजमात्रै जसपाका शीर्ष पाँच नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले विश्वासको मत लिनपर्ने हुन्छ । File Photo/RN