Logo

असहज ओछ्यान



(भावानुवाद: अनुप जोशी) :

उटा शरद ऋतुमा म मेरा केही साथीहरूसँग शिकार खेल्ने मौसम पारेर पिकार्दीमा रहेको एउटा महलमा बस्न गएको थिएँ । मेरा साथीहरू ठट्टा गर्न र अरुलाई उल्लु बनाउन निकै मन पराउँथे । मेरा सबै साथीहरू नै त्यस्तै छन् । अरु स्वभाव भएका त मैले मान्छे नै चिनेको छैन भन्दा पनि हुन्छ ।

म त्यहाँ पुग्दा उनीहरूले मलाई राजकीय शैलीमा स्वागत गरे, जसले तुरुन्तै मेरो मनमा अविश्वास पैदा गर्यो । त्यसपछि हामीले केही शिकार गर्यौं । उनीहरूले मलाई अँगालो हाले । उनीहरूले मेरो यति धेरै चाप्लुसी गरे कि मानौं उनीहरू मबाट धेरै रमाइलो लिन चाहन्छन् ।

मैले आफैलाई भनें:

‘होस गर है बुढो लोखर्के ! तिनीहरूले तेरो लागि केही तयारी गरेर बसेका छन् जस्तो छ ।’

बेलुका खाना खाने बेलाको रमाइलो धेरै थियो, वास्तवमा अत्यन्तै धेरै थियो । मैले सोचें: ‘यहाँ यस्ता व्यक्तिहरू छन् जो दोब्बर रमाइलो लिन्छन्, र त्यो पनि कुनै कारण विना नै । उनीहरू अहिले पक्कै पनि कसरी रमाईलो गर्ने भनेर दिमाख खेलाइरहेका होलान् । निश्चित रुपमा मलाई नै यिनीहरूले ‘बलीको बोको’ बनाउनेछन् । सतर्क !’

पूरै साँझभरि सबै जनाले बढाइचढाइ गरी हासेँ । जसरी एउटा कुकुरले खेलको गन्ध पाउँछ त्यसै गरी मैले पनि त्यहाँ एउटा ठट्टाको गन्ध पाएँ । तर त्यो के थियो ? म बेचैन भएर सबै कुराहरू मध्यनजर गरिरहेको थिएँ । त्यहाँ सुनिएका कुनै पनि शब्द वा अर्थ वा इशारालाई मैले आफ्नो मगजबाट उम्कन दिएको थिइनँ । मेरो लागि सबै जना शङ्काको घेरामा थिए, र म नोकरचाकरहरूलाई समेत अविश्वासपूर्ण दृष्टिले हेरिरहेको थिएँ ।

सुत्ने बेला भइसकेको थियो, र घरका सबै मान्छेहरू मलाई मेरो कोठासम्म पुर्याउन आए । तर किन ?

तिनीहरूले मलाई भने: ‘शुभ रात्री’। म अपार्टमेन्टमा छिरें, ढोका बन्द गरें, र हातमा मैनबत्ती बोकेर एक पाइला पनि नचालीकन त्यहीं ठिंग उभिरहें ।

मैले करिडोरमा हाँसेको र साउती मारेको सुनें । नि:सन्देह उनीहरू मेरो जासुसी गर्दै थिए । मैले भित्ताहरू, फर्निचर, सिलिङ, भुँइ, जताततै आँखा घुमाएँ । तर आफ्नो शंका प्रमाणित गर्नका लागि मैले कुनै प्रमाण भेटिनँ । मैले केही मान्छेहरू मेरो ढोका अगाडि हिंडेको पनि सुनें । उनीहरू चिहाएर मलाई नै हेरिरहेछन् भन्ने कुराको अब ममा कुनै दुविधा रहेन ।

मेरो मगजमा एउटा डर पलायो: ‘मेरो मैनबत्ती जुनसुकै बेला पनि अचानक निभ्न सक्छ, र त्यसपछिम अँध्यारोमा एक्लै हुनेछु।’

त्यसपछि म मैनबत्तीहरू राखिएको ठाउँतिर गएँ र त्यहाँ भएका सबै मैनबत्तीहरू जलाएँ । त्यसो गरेपछि मैले आफ्नो वरिपरि सबैतिर हेरें तर केही पनि फेला पारिनँ । मैले विस्तारै साना साना पाइलाहरू चाल्दै सावधानीपूर्ण एपार्टमेन्टको जाँच गर्दै अघि बढें । तर केही भेटिनँ । एकपछि अर्को गर्दै मैले सबै चीजहरूको जाँच गरें । तर अझै केही फेला परेन । म झ्यालतिर गएँ । ठूला काठले बनेका झ्यालका ढकनीहरू खुल्ला थिए । मैले निकै होसियारीपूर्वक तिनीहरूलाई बन्द गरें र बढेमानका पर्दाहरू लगाएँ । र, तिनीहरूको अगाडि एउटा कुर्सी पनि राखें ताकि अब मलाई बाहिरी कसैको डर नहोस् ।

त्यसपछि सावधानीपूर्वक म बसें । कुर्सी बलियो थियो । ओछ्यानमा जाने मैले कुनै विचार गरिनँ । यद्यपि समय ढल्किरहेको थियो। म अन्त्यमा यो निष्कर्षमा आएँ कि मैले हास्यास्पद व्यवहारहरू गरिरहेको छु । यदी मैले अनुमान गरेजस्तै उनीहरूले मेरो जासुसी गरिरहेका थिए भने, उनीहरूले मेरो लागि तयार गरेको ठट्टालाई सफल पार्ने तयारी गरिरहँदा उनीहरू पक्कै पनि म डराएको देखेर बेस्मारी हाँसिरहेका होलान् । त्यसैले मैले सुत्न जाने विचार गरें । तर मलाई विशेष गरी त्यहाँको खाट संकास्पद लाग्यो । मैले सबै पर्दाहरू खिचें । ती सबै सुरक्षित लागे ।

यद्यपि त्यहाँ खतरा अझै बाँकी थियो । सायद ममाथि चीसो पानी खन्याइनेवाला थियो । अथवा म खाटमा सुत्न लाग्दा डसनासंगै भुइँमा खस्नेवाला थिएँ । मैले त्यतिबेलासम्म आफूले थाहा पाएका यस्ता सबै अरुलाई उल्लु बनाउने तरिकाहरू सम्झन थालें । म उल्लु बन्नचाहन्नथें। अहँ, किमार्थ चाहन्नथें । कुनै पनि हालतमा चाहन्नथें । त्यसपछि मैले अचानक एउटा सावधानी अपनाउनेबारे सोचें जुसलाई म आफ्नो महत्वपूर्ण गुणको रुपमा लिने गर्छु ।

मैले डसनाको छेउपट्टिको भागलाई होसियारीपूर्वक समातें र विस्तारै त्यसलाई आफूतर्फ तानें । त्यो तन्ना र अन्य विछ्यौनाहरूसंगै मतिर आयो । मैले ती सबै सामानहरूलाई कोठाको ठीक मध्यभागमा ल्याएँ र प्रवेशद्वारतर्फ फर्कें । मैले शंकास्पद खाटभन्दा केही पर फेरी आफ्नो ओछ्यान लगाएँ । त्यसपछि सबै मैनबत्तीहरू निभाएँ अनि छामछुम गर्दै सिरकभित्र छिरें ।

म कम्तीमा पनि अर्को एक घण्टासम्म ससाना आवाजमा पनि सतर्क हुँदै जाग्राम बसें । महलमाचारैतिर शान्ति थियो । त्यतिकैमा म निदाएछु ।

लामो समयसम्म म गहिरो निद्रामा परेको हुँदो हुँ, अचानक एउटा गह्रौ वस्तु झरेर ममाथि बज्रेकाले म तुरुन्तै ब्युझें र त्यतिबेला नै मेरो अनुहार, घाँटी, र छाती सबैतिर तात्तातो तरल पदार्थहरू पाएँ । दुखाइले गर्दा म चिच्याउन पुगें । त्यसपछि मेरो कानमा आएर भयानक आवाजहरूबज्रियो जुन भान्साको र्याकबाट प्लेट र भाँडाकुँडा खस्दा आउने खालको जस्तै थियो ।

मलाई हलचल पनि गर्न नदिकन बेस्मारी थिचिरहेको वजनका कारण मैले आफैलाई निस्सासिएको अनुभूति गरें। त्यो वस्तु के रहेछ भन्ने पत्ता लगाउनको लागि मैले आफ्नो हात अघि बढाएँ ।मैले एउटा अनुहार, एउटा नाक र जुँगाहरु महसुस गरें । त्यसपछि मैले आफ्नो पूरै तागत लगाएर त्यो अनुहारलाई एक झापड बजाएँ । मैले तुरुन्तै एक चड्कनको जवाफ पनि पाइहालें। त्यसपछि म आफ्नो रात्रीवस्त्रमै भिजेको तन्नाबाट बुर्लुक्क उफ्रदैं कोरिडोरतर्फ भागें । मैले कोठाकोढोका खुल्ला नैरहेको पाएँ ।

हे पटमूर्ख ! झलमल्ल उज्यालो पो भइसकेको रहेछ । मेरो चिच्याहट सुनेर हतारहतार मेरा सबै साथीहरू अपार्टमेन्टमा आएका थिए । त्यसपछि हामीले यो थाहा पायौं कि मेरो लागि विहानको चिया बोकेर आएको नोकर मैले भुइँमा ओछ्याएको विछ्यौनामा अल्झेर लड्न पुगेको रहेछ र उसले ल्याएको सबै चियानास्ता मेरो अनुहारमा पोखाउँदै ममाथि उसको पेट पारेर लडेको रहेछ ।

मैले झ्यालहरू बन्द गर्नेको लागि सबैखालका सावधानीहरू अपनाए पनि  र कोठाको मध्यभागमा गएर सुतेको भए पनि आखिर मैले जुन भवितव्यबाट भाग्ने प्रयास गरिरहेको थिएँ त्यसले मलाई त्यहि विन्दुमा नै पुर्याइछाड्यो ।

हैट! त्यो दिन तिनीहरू सबैले कम्ती हाँसे त !

(भावानुवाद: अनुप जोशी)

प्रसिद्ध फ्रान्सेली लेखक गाई दी मोपासाँ विश्व साहित्यमा १९औं शताब्दीका एक महान् कथाकार हुन् । युवावयमै ‘सिफलिस’ रोग संक्रमित बनेका उनी एकान्त मन पराउने र डराउने खालका भएका थिए । सन् १८९२ मा उनले आफ्नै घाँटी काटेर आत्महत्याको प्रयास गरेपछि उनलाई पागलखाना लगिएको थियो । त्यसको एक वर्षपछि उनी ४३ वर्षको उमेरमा बितेका थिए । कम उमेरमै संसार छोडे पनि उनले आफ्नो जीवनकालमा ६ वटा उपन्यास र ३०० भन्दा बढी कथाहरू लेखेका थिए । रोचक के भने उनी सन् १८८७ मा पेरिसमा निर्माण गरिएको सुन्दर आइफेल टावरलाई मन पराउँदैनथे । तर उनी त्यही टावरको तल रहेको रेस्टुराँमा गएर खाना खाने गर्थे किनभने पेरिसको सबैतिरबाट देखिने आइफेल टावर त्यहाँबाट भने देखिँदैनथ्यो ।



प्रतिक्रिया दिनुहोस्