काठमाडौं, चैत १ । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा मन्त्री भएकाहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रले पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई भने तत्काल फिर्ता हुन निर्देशन दिएको हो ।
शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उता शनिबार नै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दाबा लामालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिसकेकोआजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।