Logo

माधव नेपाल समूहद्वारा समानान्तर कमिटीको घोषणा



काठमाडौं, चैत १ । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समानान्तर कमिटी गठन गर्ने अवस्थासम्म पुगेको छ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर महासचिवबाहेक सबैको जिम्मेवारी खोस्दै अहिले भएकै कमिटीलाई निरन्तरता दिने निर्णय गरेलगत्तै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीले शनिबार आफू पक्षीय नेताहरूलाई पदच्यूत गर्दै कमिटीहरू विस्तार गरेको भन्दै खनाल–नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने घोषणा गरेको हो ।

उक्त समूहको शनिबार बसेकोे केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ ।सर्वोच्च अदालतको फैसलाले पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रसँग औपचारिकरुपमा सम्बन्ध विच्छेद गर्दै खनाल–नेपाल समूह एमालेमा फर्किएको थियो ।

बैठकले प्रदेश–१ को संयोजनको जिम्मा भीम आचार्र्य, प्रदेश–२ को घनश्याम भुसाल, प्रदेश–३ को अष्टलक्ष्मी शाक्य, प्रदेश–४ को सुरेन्द्र पाण्डे, ५ र ६ को युवराज ज्ञवाली र प्रदेश–७ को भीम रावललाई दिएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको गोकर्ण विष्ट, प्रचार विभागको योगेश भट्टराई, महिला विभागको अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्