Logo

मूल्य वृद्धिको मार



काठमाडौं, चैत १ । अन्तर्राष्ट्रिय उपभोक्ता दिवस आउन दुई दिन बाँकी छ । हरेक वर्षको मार्च १५ तारिख मनाइने यो दिवस यस वर्ष चैत २ गते सोमबार परेको छ । यस दिवसको अवसर पारेर उपभोक्ता अधिकारबारे धेरै गोष्ठी र भाषण हुन्छन् ।

उपभोक्ताको खास अवस्था कस्तो छ भनेर उपभोक्ताको भान्साका दुई पदार्थ तेल र दालबारे बुझेको छ । तेल र दाल मात्र नभई तरकारी, चामल, फलफूलको पनि मूल्य चर्को छ । यीबाहेक अरू उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको मूल्य पनि धेरै बढेको छ ।

तीन वर्षयता तेलको भाउ एक सय रुपियाँसम्म महँगिएको छ । यसबीचमा सबैभन्दा बढी भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको भाउ एक सय रुपियाँसम्म महँगो भएको हो । २०७५ साल माघमा भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटरको क्रमशः १३५ र १४५ रुपियाँ रहेकोमा २०७७ माघमा २३५ रुपियाँसम्म पुगेको पाइएको छ । यस्तै पछिल्लो पटक तोरीको तेल पनि प्रतिलिटरमा ५० रुपियाँसम्म महँगो भएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घले २०७५, २०७६ र २०७७ सालमा सार्वजानिक गरेका तथ्याङ्कमध्ये हरेक वर्षको माघको तथ्याङ्कलाई आधार मानेर विश्लेषण गर्दा भटमास तेलको प्रतिलिटरको भाउ एक सय रुपियाँसम्म बढेको पाइएको हो । सङ्घका अनुसार ती वर्षमा माघ महिनाको भटमास तेलको भाउ क्रमशः १३५, १६० र २३५ रुपियाँ रहेको छ । यस्तै सोही अवधिमा सनफ्लावर तेलको भाउ क्रमशः १४५, १६० र २३५ रुपियाँमा कारोबार भएको पाइएको छ ।

पछिल्लो वर्ष तेलको भाउ महँगिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्नेदेखि यसको महँगो हुनुको कारणसहितको तथ्य खोज्ने गरी उद्योगी व्यवसायीसँग कारण पेस गर्न निर्देशनसमेत जारी ग¥यो ।

यस क्रममा विभागले देशभर सञ्चालित विभिन्न १७÷१८ वटा तेल उद्योगलाई पत्राचार गरेर तेलको मूल्य बढ्नुको कारणसमेत खोज्ने प्रयास ग¥यो र अनुचित भाउ बढाउने तीन उद्योगीलाई प्रतिउद्योग तीन लाख रुपियाँका दरले आर्थिक जरिवाना पनि ग¥यो । त्यसपछि खाने तेलको भाउ प्रतिलिटरमा न्यूनतम १० देखि बढी २५ रुपियाँसम्म एमआरपी घटेर बजारमा आएको छ । खुद्रा व्यापारीले भने पहिले नै स्टक रहेको भन्दै पुरानै भाउमा बिक्री गर्दै आएका छन् ।

पछिल्लो समयमा तेलमा मात्र होइन, गेडागुडी र दालको मूल्य पनि उत्तिकै अकासिएको छ । पछिल्लो वर्षमा दाल र गेडागुडीको मूल्य प्रतिकेजीमा ३० देखि ९० रुपियाँसम्म महँगो भएको पाइएको छ । खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक वर्षमा सेतो केराउ प्रतिकेजी ९० रुपियाँसम्म महँगिएको छ । एक वर्ष पहिले प्रतिकेजी ६० रुपियाँमा कारोबार भएको सेतो केराउ अहिले १५० रुपियाँ पुगेको छ ।

व्यापारीहरू भने महँगो मूल्य तिरेर पनि सेतो केराउ पाउन गाह्रो भएको बताउँछन् । यस अवधिमा हरेक किसिमको दाल प्रतिकेजी ३० देखि ५० रुपियाँसम्म महँगो भएको छ । मुसुरो मात्रै प्रतिकेजी एक सय रुपियाँबाट बढेर १५० रुपियाँसम्म पुगेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्