Logo

मनोरोगको पूर्वसंकेत हुन सक्छ अनिद्रा



डा. अजय रिसाल :  डाक्टरसाब ! मलाई निद्रै पर्दैन अचेल । खाना खाएर सुतेको एक–डेढ घण्टासम्म त छट्पटिई नै रहन्छु । मुटु ढुकढुक गरिरहेको हुन्छ । त्यसै डर लाग्छ । यताउता कोल्टे फेर्छु । तर निदाउनै सक्दिनँ … ।’

डाक्टरसाब ! मेरो अचेल चाँडै नै निद्रा खुल्छ, एकाबिहानै ब्युँझिसक्छु । सबै जना सुतिरहेका हुन्छन्, तर मलाई भने ब्युँझिएपछि निद्रा नै लाग्दैन । शरीरमा आलस्य, थकान भइरहन्छ दिनभर, निद्रै नपुगेको जस्तो लाग्छ… ।’

डाक्टरसाब ! अचेल त मलाई निद्रै लाग्दैन । रातभरि काम गरेरै बस्न सक्छु, नयाँ–नयाँ योजनाहरू बनिरहेका हुन्छन् । साह्रै नै खुशी छु । निद्रा नै चाहिने त होइन रहेछ नि मानिसलाई !’

उपर्युक्त तीन भिन्न सन्दर्भहरू तीन भिन्न मनोरोगका लक्षण हुन् । तर एउटा लक्षण भने तीनैमा समान छन्ः निद्रामा समस्या ।

पहिलो सन्दर्भमा रोग– एन्जाइटी डिस्अर्डर हो । यसमा मानिसलाई अनायास डर, छटपटी, मुटुको धड्कन बढ्ने जस्ता समस्या देखा पर्छन् । ती सबका कारण उसलाई निद्रा लाग्दैन । बेलुका सुत्न खोज्दा केही घण्टा छटपटीमै अनिदो भएर नै बित्छ । निद्रा नपर्दा झनै छटपटी बढ्छ । ‘किन निद्रा परेन ?’ भन्ने चिन्ताले अत्यास अर्थात् एन्जाइटी अझै बढाउन थाल्छ ।

दोस्रो उदाहरण– डिप्रेसन हो । यसमा निद्राको प्रायः अन्तिम चरणमा गडबडी भई अरू समयमा भन्दा दुई–तीन घण्टा अझै चाँडो निद्रा खुल्न जान्छ । निद्राको कमीले व्यक्तिमा थकान, आलस्य आदि देखा पर्दछ । व्यक्तिमा नैराश्यता या उदासीनता बिहानी समयमा ज्यादा रहने हुँदा अनिद्रासँग ती सबै लक्षणहरू सम्बन्धित हुने गरेको पाइन्छ ।

तेस्रो उदाहरणमा व्यक्तिलाई निद्राको आवश्यकता नै नरहेको जस्तो महसूस हुने गर्दछ । उसमा तीव्र उत्साहको संचार रहने, हरदम खुशी अनि कार्यमा नै लागिरहेको झैं हुने हुँदा नयाँ–नयाँ योजना बनाउने, ज्यादै खर्च गर्ने अनि धार्मिक गतिविधिमा धेरै लाग्ने जस्ता लक्षण पाइन्छन् । यी सबै हाइपोम्यानिया (अझै गम्भीर अवस्थामा रहे म्यानिया) का लक्षण हुन् ।

यिनै उदाहरणहरूले प्रष्ट्याउँछन्– मानसिक समस्यामा ‘निद्राको गडबडी’ प्रमुख लक्षण हुने गर्दछ । यी बाहेक साइकोसिस, सोमाटोफर्म जस्ता रोगमा पनि ‘अनिद्रा’ प्रमुख रूपमा देखा पर्ने गर्दछ । साइकोसिस मा मस्तिष्कमा असामान्य रूपमा भइरहने विचारहरूको क्रिया–प्रतिक्रियाले गर्दा अनि सोमाटोफर्म मा दुखाइ या सम्भावित अन्य शारीरिक लक्षणहरूका कारण निद्रा नपर्ने हुन सक्दछ ।

वास्तवमा, मानसिक रोगहरूको जैविक कारकतत्वको खोजी गर्दा रसायनहरूमा हुने असन्तुलन एक प्रमुख कारण भएको पाइएको छ । त्यही रसायनिक असन्तुलनले नै मस्तिष्कका अवयवहरूमा असर गरी निद्रामा समस्या ल्याउने गर्न सक्दछन् ।

यी सबै कारणले गर्दा नै मानसिक रोगहरूको उपचारमा निद्रा लगाउन सहायता गर्ने औषधिहरू पनि प्रयोग गर्ने गरिन्छ । एङ्गजाइटी मा उपयोग हुने बेन्जोडाइजिपाइन समूहका औषधिले निद्रामा सन्तुलन ल्याउने काम गर्दछन् । त्यस्तै डिप्रेसन, साइकोसिस, म्यानिया जस्ता रोगका लागि प्रयोग हुने औषधिमा पनि निद्रालाई सहायता गर्ने रसायनहरू हुन्छन् । तर मनोरोगको उपचारमा प्रयोग हुने सबै औषधि ‘निद्रा लगाउने औषधि’ मात्र भने होइनन् । यो भ्रमबाट बच्नुपर्दछ ।

यस बाहेक, ‘निद्रा नलाग्ने समस्या’ कुनै पनि मानसिक रोगहरूसँग सम्बन्धित नभई, प्राथमिक रूपमै निद्राको समस्याका रूपमा पनि देखा पर्न सक्दछन् । यस्तो समस्यालाई प्राइमरी इन्सोम्निया’ भनिन्छ । यस्तो समस्या भएका व्यक्तिहरू ‘निद्रा पुगेन’ भनेर नै हामीकहाँ आउँदछन् । त्यस्ता रोगको उपचारका लागि लाग्नुभन्दा पहिले बिरामीहरूको पूरा विवरण लिएर माथि उल्लेख भएका कुनै रोग भए/नभएको निक्र्योल गर्नुपर्दछ । त्यसपछि प्राइमरी इन्सोम्निया नै भएको प्रमाणित भएमा त्यस्ता व्यक्तिहरूको निद्राको कमीले दैनिकीमा कति गहिराइसम्म प्रभाव पारेको छ भनी विचार गर्नुपर्दछ । सामान्य निद्राको समस्या मात्र भएमा तिनलाई ‘शयन स्वास्थ्य’ (स्लीप हाइजिन) का बारेमा सुसूचित गराउनुपर्दछ । यदि अनिद्राले दैनिकीमा बढी नै असर गरेको छ भने त्यस्ता व्यक्तिलाई छोटो समयका लागि ‘निद्रा लाग्ने औषधि’ प्रदान गर्न सकिन्छ । तर त्यस्तो औषधि विस्तारै घटाउँदै गएर अवस्था सामान्य भएपछि बन्द नै गरिदिनुपर्दछ ।

मानसिक रोगहरूका कारण निद्रामा समस्या भएका व्यक्तिहरूमा चाहिं प्राथमिक रोग (सम्बन्धित मनोरोग) को उपचारका क्रममा विस्तारै निद्राको समस्या पनि हराउँदै जान्छ । यस्ता रोगहरूमा पनि पहिले अलि बढी मात्रामा औषधि दिएर निद्राको समस्यालाई निस्तेज गरिन्छ । रोगका लक्षणमा कमी आउँदै गरेपछि या निद्राको समस्या घट्दै गएपछि ती औषधिहरूको मात्रा पनि घटाउनुपर्दछ ।

अतः निद्राको समस्या साधारण समस्या मात्र होइन, यसमा कुनै मनोरोग नै लुकेको पनि हुन सक्दछ । त्यसैले त्यस्ता समस्या भएका जोसुकैले पनि ‘शयन स्वास्थ्य’ का बारेमा सजग भएर आवश्यक पर्दा मनोचिकित्सकको सल्लाह लिन हिच्किचाउनुहुँदैन ।

डा. रिसाल मानसिक रोग विशेषज्ञ हुन् ।

 



प्रतिक्रिया दिनुहोस्