कैलाली, चैत २ । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले एक लाख रुपैयाँभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी एक लाख १८ हजार नौ सय रुपैयाँ बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ । त्यस्तै,धनगढी उपमहानगरपालिका–१९ खेदाबाट एक लाख रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान प्रहरीले आइतबार बरामद गरेको छ ।
भन्सार छली ल्याइरहेको अवस्थामा ३० बोरा चिनी, मोबिल र प्लाष्टिकको डोरी गरी रु एक लाख सात हजार १०० बराबरका सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागुऔषधसहित एक जनालाई ४० थान लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । रासस