Logo

स्टार अस्पतालले १५औं वार्षिकोत्सव मनायो



काठमाठौं, ३ चैत्र । ललितपुरको सानेपास्थित स्टार अस्पतालले आफ्नो स्थापनाको १५औं वार्षिक उत्सव मनाएको छ । बच्चादेखि वृद्धसम्मको उपचार गरिरहेको यस अस्पताल, कोरोना महामारीमा पीसीआर परीक्षणबाट आफुलाई झनै चर्चित बनाउन सफल भएको छ । यस अस्पतालमा रहेको प्रयोगशाला नेपालको पहिलो निजी पीसीआर प्रयोगशाला पनि हो । गत श्रावण देखि पीसीआर परीक्षण सुरु गरेको स्टार प्रयोगशालाले ८ महिनाको अवधिमा १ लाख २० हजार भन्दा बढीको पीसीआर परीक्षण गरेको छ ।

१५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले ८ महिनाको अवधिमा आफ्नो अस्पतालमा १ लाख २० हजारभन्दा बढी बिरामीको उपस्थिति हुनुले अस्पतालको सेवाप्रति विश्वास बढ्दै गएको टिप्पणी गर्नुभयो ।

उहाँले सबैभन्दा धेरै पीसीआर टेस्ट गर्ने अस्पतालमा आफ्नो अस्पताल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछि दोस्रो स्थानमा र निजी अस्पतालमा पहिलो रहेको बताउनुभयो । उहाँले अस्पतालको सेवामा थप विस्तार गर्दै लैजाने भन्दै आगामि वैशाख देखि जीआई (ग्याष्ट्रो) सेवा पनि सुरु गर्ने जानकारी दिनुभयो ।

अस्पतालमा हाल १० बेडको आइसियु र ६ बेडको एनआइसियुसहित लगायत सबै किसिमका सेवा उपलव्ध रहेको छ । ३५ जना कर्मचारीबाट सुरु भएको यस अस्पतलामा हाल ४ सय बढी व्यक्तिले रोजगारी पाएका छन् ।

स्टार अस्पतालको सतप्रतिशत स्वामित्वमा ३ वटा शैक्षिक संस्थासमेत रहेका छन् । अस्पतालको स्वामित्वमा रहेका मोर्डन टेक्निकल कलेजमा बीपिएच, बिफर्मा र बीएमसिटि, इनोभेटिभ कलेज अफ हेल्थ साइन्समा बीएन÷बीएस्सी नर्सिङ र स्टार एकेडेमीमा पिसिएल नर्सिङ र एचएको अध्यापन हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्