दैलेख, चैत ५ । आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । ‘रिपोर्ट हेर्दा सबै जनाको डुबेर मृत्यु भएको देखिन्छ,’ जिल्ला अस्पताल अछामका प्रमुख डा अतुल भारद्वाजले भने ।
सुकीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । कान्तिपुर दैनिकबाट