Logo

दाइजोले छिनिएकी रेखादेवी



काठमाडौं, चैत ५ । दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर।’

आठ महिनाकी गर्भवती रेखादेवीको मृत्युको खबर वैशाख १६ गते साँझ मोतीपुरभरि फैलियो। रेखादेवीको माइती पक्ष दुई किलोमिटर दूरीमा रहेको लक्ष्मीनिया पुगे। तर, उनका पति सञ्जय ठाकुर त्यहाँ देखिएनन्। गाउँलेहरू सञ्जय फरार भएको बताइरहेका थिए। घर प्रहरी घेरामा थियो। सञ्जयका काका देवेन्द्र ठाकुर ९तत्कालीन वडाध्यक्ष०ले ‘पावर’ लगाए। माइती पक्षलाई गेटमै रोकियो। राति ८ बजे मात्र शव रहेको कोठामा जान दिइयो। प्रहरी मुचुल्कामा सही गर्न भनियो।

सञ्जयका बुवा नागेन्द्रले बिजुलीको मेन स्विच अफ गरिदिए। ‘मोबाइलको लाइट बालेर बहिनीको शव हेर्‍यौं। गालामा हातको डाम थियो, शरीरभरि नीलडाम’, रोशनले भने, ‘कपाल लुछिएको थियो। अनुहार र घाँटी वरपर रगतका टाटा थिए। अनुहार कोतरिएको थियो अनि खुट्टा पनि अस्वाभाविक बांगा देखिन्थे।’

उनका अनुसार कोठामा फुटेका चुरा र सामान यत्रतत्र छरिएका थिए। प्रहरी तिनै चुरा टिप्दै थिए। रेखादेवीको शव ओछ्यानमा थियो। एउटा सल दुई टुक्रा पारेर छोपिएको थियो। रेखाका ससुरालाई उद्धृत गर्दै रोशनले भने, ‘यही सलमा झुन्डिएर मरेकी हो।’ तर, न झुन्डिएको अवस्थामा शव थियो न त कुनै फोटो देखाइयो।

माइती पक्षले प्रहरी मुचुल्कामा सहीछाप त गरिदियो तर चित्त बुझेन। ‘माइतीलाई थाहै नदिई शव जलाउने तयारी रहेछ’, उनले भने, ‘मेरी बहिनीलाई दाइजोले मार्‍यो।’
बहिनीको मृत्यु शंकास्पद देखिएपछि उनले ‘हत्या भएको हो अनुसन्धान गरिदिनुस्’ भनेर प्रहरीलाई आग्रह गरे। तर, उनको कुरा सनिएन। लकडाउनका बेला झन्झट बेहोरेर कहिले मानव अधिकार कार्यालय त कहिले प्रहरी अनि जिल्लाका संघसंस्थामा पुगे। सबैले आश्वासन दिए, सहयोग गरेनन्।

एक महिनासम्म उजुरी दर्ता भएन। हत्यालाई आत्महत्या बनाउन सञ्जयका परिवारदेखि प्रहरीका हाकिमसम्म लागेको माइती पक्षको दाबी छ। महिला आयोगमा कुरा तर सुने तर निवेदन दर्ता गरेनन्। दिदी रिंकु ठाकुरले भनिन्, ‘मधेसका पीडित महिलाको पक्षमा बोल्ने कोही रैनछ।’

घटनाको विरोध भएपछि ३८औं दिनमा रेखादेवीका पति सञ्जयलाई प्रहरीले पक्राउ त गर्‍यो तर प्रमाण नपुगेको भन्दै छाडिदियो। त्यसयता बहिनीको न्यायका लागि रोशन भौंतारिइरहेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्