Logo

सामाजिक सुरक्षा कोषः रकम जम्मा गर्ने मिति सार्न माग



विराटनगर, चैत ६ । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने मिति सार्न माग गरेका छन् । उद्योग संगठन मोरङको सभाकक्षमा बिहीवार आयोजित अन्तरक्रियामा उद्योगी तथा व्यवसायीले कोषमा रकम बुझाउने मिति महीनाको १५ गते नभई २५ गते बनाउन माग गरेका हुन् ।

सामाजिक सुरक्षा ऐन २०७४ तथा कार्यविधि २०७५ को प्रावधानअनुसार महीनाको १५ गतेसम्ममा कोषमा रकम अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था छ । उद्योगी–व्यवसायीले त्यसो गर्दा आर्थिक र प्रशासनिक झन्झट बढेको भन्दै भ्याट र टीडीएस विवरण बुझाउने दिनलाई नै कोषको रकम जम्मा गर्ने दिनका रूपमा परिमार्जन गरिदिन माग गरेका हुन् । सुनसरी औद्योगिक कोरिडोरका मजदूर, उद्योगी–व्यवसायी तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीले श्रम र सामाजिक सुरक्षा ऐनमा उल्लिखित उमेर हदलाई समान बनाउनुपर्ने मागसमेत उनीहरूको छ ।

श्रम गर्न छोडेको उमेर र सामाजिक कोषबाट लाभग्राही उमेरमा २ वर्षको अन्तर रहेको र यसबीचको समयमा मजदूरको दिनचर्या व्यवस्थापनको विषय ओझेलमा परेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

ऐनमा मजदूरको उमेर ५८ वर्ष र सामाजिक सुरक्षा कोषबाट लाभग्राही हुने उमेर ६० वर्ष तोकिएको छ । अवकाशपछिको २ वर्ष थप दायित्व उद्योगीले बोक्नुपर्ने अवस्था छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारी योजना कार्यान्वयनका लागि उद्योगीहरू तत्पर रहेको भए पनि कानुनी जटिलता देखिएको बताए । जटिल भएका सन्दर्भलाई सरलीकरण गरिए त्यसको कार्यान्वयनका जटिलता हटेर जाने उनले खुलाए ।

यस्तै, रिलायन्स स्पिनिङका प्रबन्धक आशिष काफ्लेले उद्योगमा कार्यरत मजदूरमध्ये १७१ जना भारतीय रहेकोले उनीहरूलाई सूचीकृत गर्न असजिलो भइरहेको बताए ।

मजदूरहरूले कोषमा जम्मा गरेको रकम कसरी फिर्ता पाउन सकिन्छ भन्ने नबुझ्दासम्म पूर्ण कार्यान्वयनमा समस्या हुने उनको भनाइ थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्