काठमाडौं, चैत ७ । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ। कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्क राखिएको छ ।
पछिल्ला दिनमा दैनिक ३५ हजार नेपाली भारतबाट फर्किन थालेका छन् । त्यस्तै, भारतका विभिन्न प्रान्तमा केही दिनयता फेरि कोरोना संक्रमण बढेपछि चिकित्सकले वीरगन्ज र आसपास क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएका छन् ।
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले खुला सीमाका कारण सीमावर्ती सहर र जिल्लामा पुनः संक्रमण भित्रिने जोखिम रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
होलीलगायत चाडपर्व पनि नजिकिएका कारण स्वास्थ्य सतर्कता नअपनाएको खण्डमा पुनः जेठ–साउनको जस्तै भयावह स्थिति फर्किने जोखिम रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।