काठमाडौ, चैत ७ । विक्रम संवत् १९१३ मा श्री ५ सुरेन्द्रबाट कास्की र लमजुङका महाराजाको उपाधि पाएपछि श्री ३ बनेका जङ्गबहादुर राणा औपचारिक रूपमा ‘श्रीप्राइमिनिन्ष्टर् यान् कम्यान्डर इन् चीफ् जनरल जङ्गबहादूरकुँवर रारााजी वर्मा’ (यसै लेखमा प्रस्तुत जङ्गबहादुरका पत्रहरु, केहीमा पदवियोग गरिएको छ) भनेर चिनिन्थे र यो पहिचान अगाडि ‘श्रीमद्राजकुमारात्मज’ पनि थपिएको पाइन्छ ।
उनको यो पहिचान र प्रशस्ति उनको युरोप यात्राको विवरण ‘जङ्गबहादुरको बेलाइत यात्रा’ (सं कमल दीक्षित, २०१४, मदन पुरस्कार पुस्तकालय) लेख्ने अज्ञात लेखकले पनि दिएका छन् । बाहिरी दुनियाँमा भने जङ्गबहादुर ‘युरोप भ्रमण गर्ने पहिलो नेपाल प्रमण्डलका नेता’ (जोन वेल्पटन, सन् २०१६, हङकङ विश्वविद्यालय) भनेर चिनिन्छन् । विसं १९०३ मा कोतपर्वमा र त्यसपछिका अरु पनि घटनाहरुमा आप्mना सबै प्रतिस्पर्धीहरूको अन्त्य गरेर एकछत्र राज गर्न थालेपछि जङ्गबहादुरले विस। १९०६ (सन् १८५०–५१) मा युरोप यात्रा गरेका थिए । बेलायत र फ्रान्समा गएका उनको व्यापारिक उद्देश्य भने पूरा नभएको युरोपेली विद्वान्हरुको निष्कर्ष पाइन्छ ।
उनको यात्रामा सहभागी रहेको मानिएका अज्ञात लेखकले भने जङ्गबहादुरको बेलायत यात्राको उद्देश्य “अंग्रेज वात्साहाको र हाम्रो सीवाना जोरियाको छस इन्को फौज, पल्टन्, षजाना, हात्हतियार, मुलुक, दौलथ, आम्दानि षर्च, थिति वन्दोवस्त क्या रहेछ पात्साहि तषत् वेलायेत् काहा रहेछ, लन्डन् सहर कस्तो रहेछ, ताहाका भारदार दुनिञा गैह्रको मीजाज कस्तो रहेछ” भन्ने थाहा पाउनु रहेको उल्लेख गरेका छन् ।
अझ जङ्गबहादुर “आजतक् हिन्दूस्थान्का मानिस् लन्डन् बेलायेत् पुगी आयाको कोहि छैनन्, इन्का मुष जमान् अकवारको वेहोरा सुन्दा सारा हिन्दूस्थान्का राजा नवाव पात्साहाका मुलुक् लीखा पनि अंग्रेज्का अवस्थान अंग्रेजका वादसाहका वल पराक्रम् तहकीत गरि चिन्ह हिन्दूस्थान्, मध्येस, पाहाड भोट्, चीन कसैले सकेनन्” भन्ने निष्कर्षमा पुगेको देखिन्छ । त्यसै कारण ती लेखकले नेपालको तत्कालीन छिमेकी बेलायतको शक्ति आफ्नै आँखाले नियालेर रणनीति तय गर्नु जङ्गबहादुरको युरोप यात्राको उद्देश्य रहेको जनाएको पाइन्छ ।
यस आलेखको उद्देश्य भने उनको त्यस्तो रणनीति वा कार्यनीतिको खोजी गर्ने वा व्यापारिक सफलता वा असफलताको खोजी गर्ने नभई जङ्गबहादुरले उनका बेलायती मित्र ब्रायन हटन हड्सनलाई लेखेका तीन वटा व्यक्तिगत पत्रका आधारमा जङ्गबहादुरका व्यक्तिगत र शासकीय विशेषताको खोजी गर्नु रहेको छ । यी पत्र यस आलेखका लेखकको अनुसन्धानमूलक कृति नेपाल विद्या लेखनको क्रममा प्राप्त भएका हुन् ।
नेपालको एक तिहाई भूभाग तत्कालीन बेलायत (ब्रिटिस इन्डिया सरकार) र हालको भारतमा पर्ने गरी विसं १८७२ मा बेलायतसँग भएको सुगौली सन्धिपछि नेपालमा बेलायती दूतावास (रेसिडेन्सी) पनि राखिएको थियो । हड्सन त्यही रेसिडेन्सीमा विसं १८७७ देखि असिस्टेन्ट रेसिडेन्ट (सहायक राजदूत) र विभिन्न पद हुँदै विसं १८८९ देखि विसं १९०० सम्म रेसिडेन्ट (राजदूत) रहेका थिए ।
हड्सनले नेपालमा रहँदा विभिन्न विषयमा अध्ययन गरेका थिए र धेरै नेपाली सामग्री बेलायत पठाएका थिए । उनका अध्ययनका सामग्रीलाई आधार बनाएर धेरै अध्ययन हुने गरेका छन् । नेपालबाट अवकास पाएपछि उनी दार्जिलिङमा बसेका थिए र त्यही बसाइका क्रममा जङ्गबहादुरले हड्सनलाई लेखेका तीन वटा पत्रबारे यहाँ उल्लेख गरिएको छ ।
हड्सनको जीवनीमा आधारित यी पत्र भने हड्सनबाट नभई उनकी पत्नी सुसनको सङ्कलनबाट लिइएका हुन् । यी पत्र नेपाल बेलायत कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सयौँ वार्षिकोत्सवका अवसरमा मार्च २२, २०१६ मा रोयल एसियाटिक सोसाइटीबाट सार्वजनिक गरिएका हुन् । पत्रमा व्यक्तिगत र राजनीतिक तथा सामरिक महŒवका सूचनासमेत छन् । गोरखापत्र दैनिकबाट