सिमकोट, ७ फागुन: हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकामा अनिश्चित समयका लागि विद्युत् विद्युत् भार कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सिमकोटले पावर हाउसमा रहेको पेनइस्टक पाइपको मर्मत गर्ने भएका कारण एक सूचना जारी गर्दै मर्मत नहुँदासम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
हेल्दुङ वितरण केन्द्रको पावरसाउस पछाडिबाट पानी चुही उक्त ठाउँमा मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने हुँदा विद्युत् सेवा अवरुद्ध हुने भएको प्राधिकरणका निमित्त कार्यालय प्रमुख तेजेन्द्रबहादुर शाहीले जानकारी दिए।
बिहान १० बजेदेखि मर्मत कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । यस्तै हेल्दुङ वितरण केन्द्र सिमकोटले विद्युत् उपभोग गर्ने सम्पूर्ण ग्राहक वर्गलाई बिहान र साँझ पिक लोडमा खाना पकाउने हिटर, रुम हिटर, इन्भटर र उद्योग सञ्चालन नर्गनसमेत आग्रह गरेको छ ।
यो वर्ष हिमपात नहुँदा पानीको स्रोत कम भएकाले ५०० किलोवाट क्षमता भएको आयोजनाले जम्मा ८० किलोवाट विद्युत् उत्पादन गरेको हुँदा ग्राहक वर्गलाई पावर बढी तान्ने इलोक्ट्रोनिक साधन प्रयोग नर्गनसमेत आग्रह गरेको छ ।
उक्त आयोजनाबाट यस वर्ष पानी अभावले विद्युत् उत्पादन घटेको नेपाल विद्युत् प्राधिकरण सिमकोटले जानकारी दिएको छ । कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको प्राधिकरणले जनाएको छ । सिमकोट र खार्पुनाथ दुई गाउँपालिकाका विद्युत् उपभोग गर्ने सेवाग्राही प्रभावित हुने भएका छन् । सिमकोटमा दैनिक २० घण्टा विद्युत्भार कटौती हुँदै आएको छ ।-रासस/File Photo