काठमाडौं, चैत ८ । स्थानीय तहबीच समन्वय र सहकार्यको सकारात्मक अभ्यास देखिन थालेको छ । स्थानीय तहबीच अन्तरनिर्भरता रहेकाले पूर्वाधार विकासलगायतका विकास गतिविधिमा सहकार्य गर्न थालेका हुन् ।
स्थानीय तहले पूर्वाधार विकास, पर्यावरणीय सुधार, फोहोरमैला व्यवस्थापन, यातायात तथा ट्राफिक व्यवस्थापन, पर्यटकीय पूर्वाधार निर्माणलगायतका साझा आवश्यकतालाई सामूहिक रूपमा समाधान गर्ने कार्य प्रारम्भ गरेका हुन् । सानो भौगोलिक क्षेत्र र सीमित वित्तीय क्षमता हुने भएकाले ठूला र सामूहिक समस्या समाधान गर्न स्थानीय तहबीच समन्वय र सहकार्य हुन थालेको हो ।
खासगरी महानगरपालिकाहरू जस्ता वित्तीय रूपमा सक्षम स्थानीय तहले छिमेकी स्थानीय तहको विकासलाई पनि साथसाथै अगाडि बढाउन साझेदारी, सहकार्य र समन्वयको नीति लिन थालेका छन् । साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्दा प्रतिफलसमेत छिटो प्राप्त भई साझेदार स्थानीय तहका नागरिक लाभान्वित हुने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य बताउन्छन् ।
कतिपय विकास कार्य एउटै स्थानीय तहले सम्पन्न गर्न आर्थिक र जनशक्तिका हिसाबले पनि सम्भव नहुने धारणा व्यक्त गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भने “सामूहिक रूपमा काम गर्दा लागत र लाभका दृष्टिले बढी प्रभावकारी हुन्छन् ।” समन्वयात्मक रूपमा काम गर्न काठमाडौँ र ललितपुर महानगरपालिकालगायत उपत्यकाका सबै नगरपालिका एक कदम अगाडि छन् । उपत्यकाबाहिरका स्थानीय तहले पनि बिस्तारै समन्वयात्मक सोच र कार्यक्रम अगाडि बढाउन थालेका छन् । गोरखापत्र दैनिकबाट