बाँके, १० चैत्र । पाटे बाघको छाला सहित ४ जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–१ च्यामास्थित सडकबाट पाटेबाघको १ थान छाला र बाघको हड्डी जस्तो देखिने २ किलो ५ सय ग्राम हड्डी सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ ठेगाना भएका ५० वर्षीय गंग बहादुर खत्री तथा २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका–४ ठेगाना भएका ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका–४ ठेगाना भएका ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।
चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुलाई उक्त ठाउँमा अवैध बाघको छाला र हड्डीको कारोवार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त छाला र हड्डी सहित फेला पारी पक्राउ गरेको बताएको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।