काठमाडौँ, १३ चैत । काठमाडौँको आकाशमा एक्कासी समस्या देखिएको छ । आज (शुक्रबार) दिउँसो काठमाडौँको आकाशमा एक्कासी तुवाँलो बदेपछि हवाई उडान समेत बन्द गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।
‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ, आउने र जाने दुवैथरी रोकिएको छ ।’ उनले भने यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
नेपालको अग्रनी वायु सेवा कम्पनी बुद्ध एयरले समेत आफ्नो सामाजिक सञ्जालमार्फत उडान बन्द गरेको जानकारी गराएको छ । वुद्ध एयरले सामाजिक सञ्जालमा लेखेको छ,‘काठमाडौँमा भिजिविलिटी समस्या देखिएको छ । हाम्रा उडान हरु पनि प्रभावित भएरहेको छ । असुविधाको लागि क्षमाप्रार्थी छौँ । उडान सम्बन्धी अपडेट हाम्रो मोवाइल एपबाट हेर्न सकिन्छ ।’तुवाँलोका कारण मानिसहरुको स्वास्थ्य अवस्थामा समेत हानी पुग्ने विज्ञहरुले बताएका छन् ।