Logo

नेपाल र रावलको स्पष्टीकरण नकारात्मक भन्दै प्रधानमन्त्री ओलीले गरे कारबाही गर्ने उद्घोष



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । आजको बैठकमा नेपाल र खनाल समूहका सांसदहरुको पनि उपस्थिति थियो । तर, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम बहादुर रावल भने अनुपस्थित् भएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यसअघि चार जना नेतालाई सोधिएको स्पष्टीकरणपत्रको सवालमा पनि चर्चा गरेका थिए । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरणपत्रको जवाफ हेर्दा कारबाहीयोग्य रहेको कुरा बताएको सुनाए ।

उनले नेता नेपाल र रावलको स्पष्टीकरण कारबाहीको भागिदार छ भनेर प्रधानमन्त्री ओलीले प्रष्टसँग त्यो कुरा उल्लेख गरेका थिए । त्यस्तै, अब घनश्याम भुषाल र सुरेन्द्र पाण्डेको स्पष्टीकरण चाहीँ पार्टी एकतालाई मद्दत पुग्ने खालको आउने कुरामा आशा व्यक्त गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठक र चैत्र ५ र ७ गतेको संसदीय दलको बैठकले गरेका निर्णय कुनैपनि हालतमा फिर्ता नहुने प्रष्ट पारेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने,‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्