काठमाडौं, चैत १४ । उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमाढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर तीनतले चीर ठड्याइन्छ । चीर ठड्याएपछि होली शुरु हुन्छ ।
चीरमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुण्ड्याइन्छ । यो बेला गुरुजुको पल्टनद्वारा तोप पड्काएर हर्षबढाइँ गरिन्छ । अबिर छर्केर होली सुरु भएको जनाउ दिइन्छ । अनि पचिमा बाजा बजाई महादेवको स्तुति पनि गरिन्छ । चीर ठड्याउने काम काठमाडौँको धालासिक्व टोलका साल्मीहरुले गर्छन् ।
यसको एउटा छुट्टै गुठी नै छ । हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रङ्गीचङ्गी कपडा झुण्ड्याइन्छ । मयल रुखको हाँगा गाडेर पूजा गरिन्छ । मोहनकाली चोकमा हातमा मुरली लिइरहेका कृष्णको काठको मूर्ति र नौवटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गरिन्छ । पूर्णिमाका दिन बेलुका चीर ढालेर वसन्तपुरदेखि टुँडिखेलसम्म तानेर लगी चीरदहन गरिन्छ ।
चीरदहन गरिसकेपछि एक मुरी चामलको भात र एउटा सिङ्गो राँगोको मासु पकाएर टुँडिखेलमा राक्षसलाई खुवाउन लाने चलन पनि छ । काठमाडौँका बच्चाहरुलाई गुरुमापाले चोरेर खान्थे । यो कुरो बच्चाका आमाबाबुले इतुंबहालका केशचन्द्रलाई भने । केशचन्द्रको आदेश बमोजिम गुरुमापालाई समातेर ल्याइयो । गुरुमापालाई बच्चाहरुको रक्षा गर्नुपर्ने र टुँडिखेलमै बस्नुपर्ने कबुल गराइयो ।
यसको बदलामा गुरुमापालाई वर्षमा एक पटक होली पूर्णिमाका दिन एक मुरी चामलको भात, एउटा राँगोको मासु, जाँड, रक्सी र चौरासी व्यञ्जन खुवाउनुपर्ने भयो । यो चलन हालसम्म चलिरहेको छ ।
गुरुमापालाई खुवाउन लाने भात, मासु, जाँड, रक्सी र चौरासी व्यञ्जन बोकेर जाँदा जतिसुकै गह्रौँ भए पनि कतै बिसाउनु हुँदैन । यसरी लाँदा ‘झ्यासी नासी झ्यासी नासी’ बोल आउने गरी बाजा बजाउँदै लाने गरिन्छ । यसको पनि एउटा गुठी छ । गुठियारहरु सबै टुँडिखेलमा गएर गुरुमापालाई भात चढाइसकेपछि त्यहीँ भोज खाएर फर्की आउँछन् ।
यसैगरी होली पूर्णिमाका दिन राधा र कृष्णले होली खेलेको स्मरण गर्दै भक्तपुरस्थित चाँगुनारायणमा वंशगोपालको खटजात्रा तान्त्रिक विधिपूर्वक पूजापाठ गरेर राधा, कृष्ण, रुक्मिणीका राम्रा मूर्तिसहित नगर परिक्रमा गराई मनाइन्छ ।गोरखापत्र दैनिकबाट