Logo

विराजले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए, दशरथ रङ्गशालामा भव्य बिदाइ (फोटोफिचर)



काठमाडौं, १६ चैत्र । नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । उनले आजको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका थिए ।

पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा आज भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुन् । महर्जनले ७३ खेल खेलेका छन् ।

खेलको अवलोकन गर्न प्रधानमन्त्री ओली रङ्गशालामा

नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला गएका थिए । प्रधानमन्त्री ओली खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गरेका थिए । उनको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायत रङ्गशाला पुगेका थिए ।

नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए । प्रधानमन्त्री ओलीले खेल अवधिभर रङ्गशालमा रहेर खेलाडीको हौसला बढाउनुका साथै विजेता तथा उपविजेता खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारीलगायतलाई ट्रफी प्रदान गर्दै सम्मान गरेका थिए ।

प्रतियोगितामा नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गराएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्