Logo

आजदेखि मेयर कप फुटबल प्रतियोगिता



नवलपुर, १७ चैत: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो ।

देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताए । प्रतियोगितामा नगरभित्रका १६ समूहले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगिता संयोजक विष्णुकुमार वाग्लेले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा किशोर–किशोरी केन्द्रित खेलकूदका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । उनले खेलमैदान निर्माणदेखि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । खेलकूदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उनको भनाइ छ ।

खेलकूदका कार्यक्रमसँगै प्रशिक्षणलाई समेत अगाडि बढाउने तयारी भएको वाग्लेको भनाइ छ । सो प्रतियोगिताको विजेता समूहले नगद रु एक लाख ५० हजार तथा उपविजेता समूहले नगद रु ७५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वाग्लेले बताए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकसहित विधागतरूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने संयोजक वाग्लेको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्