काठमाडौं, चैत १८ । बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।
आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिकालाई मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था गरिए पनि झन्डै ७७ प्रतिशत बालबालिका आमाबाबु भएका बस्ने गरेको स्वीकार गरे ।
उनले भने, “आमाबाबु भएर पनि बालगृहमा बस्ने बालबालिकामध्ये एकथरी गरिब परिवारका छन् भने अर्काथरी दुर्गम ठाउँका आमाबाबुले छोराछोरी सहरमा राम्रो विद्यालय पठाउने प्रलोभन भएको पाइन्छ ।”
पछिल्ला केही वर्षदेखि परिषद्ले अति आवश्यक भएका बालबालिकाले मात्र बालगृह बस्नुपर्छ भनेर कतिपय त्यस्ता बालबालिकाको पहिचान गरेर परिवारमै पुनस्र्थापना गराउने काम गर्दै आएको सूचना अधिकारी चन्दले जानकारी दिए ।
उनले कोरोना महामारीमा मात्रै झन्डै चार हजार बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने काम परिषद्बाट भएको जनाए। परिषद्का अनुसार हाल देशका ४५ जिल्लामा सञ्चालन गरिएका ४८९ वटा बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेका छन् । गोरखापत्र दैनिकबाट