युवराज भट्टराई : काठमाडौं सुन्धाराको पानी बिस्तारै घट्दै थियो । स्थानीयका अनुसार त्यतिबेला ठप्पै भयो जतिबेला छेवैमा काठमाडौं मल ठडियो । मलको जग खन्दा अत्यधिक भूमिगत पानी निस्किएको थियो । पाटनमा छ, लुहिटी–अर्थात् अर्को सुन्धारा, त्यहाँ भएका तिनै धारामा पित्तलका सुनौला टुटी त छन् । तर एक थोपा पनि पानी छैन । राम्रो वर्षात् हुँदा असार–साउनदेखि दुई–तीन महिना पानी आउने स्थानीयले बताए । ४० सालअघि भने त्यहाँ बाह्रैमास पानी आउँथ्यो । जब दुई सय मिटर पर रहेको पाटन औद्योगिक क्षेत्र भित्र डिप बोरिङ गरियो, तब लुहिटी मृत धारामा परिणत भयो ।
लुहिटीको छेवैमा दरवार स्क्वायर आउने बाटोमा छ, अर्को ‘सोग हिटी’ । दुई धारा भएको सोगहिटीको हालत पनि लुहिटीको जस्तै छ । पाटन दरवार स्क्वायर्समै छ अर्कौ मंगलहिटी । कुनै समय गर्मीमा चिसो र जाडोमा तातो पानी आउने यो धारा पनि ठप्प छ । दक्षिणी ललितपुरतिरबाट, ल्याइएका पाटनका पोखरीहरु भर्ने राजकुलोको अवशानसँगै यो धारा सुकेको आंशका छ ।
आशंका जेसुकै होस् ! सत्य त यो हो कि जमिनमुनिको जल रित्तिएर वा नशारुपी भूमिगत जलमार्गमा अवरोध पैदा भएर नै उपत्यकाका ढुङ्गेधाराहरु सुकेका हुन् । जयबागेस्वरी, डिल्लीबजार, धोवीधारा, नारायणहिटी सबैतिरका ढुङ्गेधाराहरु सुकिसकेका छन् । अर्थात् लुहिटीमा अब लु ‘पित्तलका सुनौला टुटी’ छन्, ‘हिटी’ धारा छ, अकल्पनीय लिच्छवि–मल्लकालीन वास्तुकला पनि छ । तर ‘ल मरु’ अर्थात् पानी भने छैन ।
पाटनको लुहिटी–अर्थात् सुन्धारा; जीवनको लागि जल प्रभाव गरिदिने हिटीहरुको कुन हदसम्मको बेवास्ता भयो भन्ने यसैले देखाउँछ । एक पटक सुन्धरातिर फर्कौं । सँगै ठडिँदै छ तीन–तीन पटक भत्किएको धरहरा । धरहरा त मानिसले चाहेको ठाउँमा जुनसुकै समयमा पनि ठड्याउन सक्छ । तर प्राकृतिक पानीको श्रोत हिटी मूलतः प्रकृतिकै देन हो । मान्छेले चाहेको ठाँउ र बखतमा त्यसको निर्माण हुँदैन । तर पनि पटक–पटकका भुकम्पमा ढलिरहने आयातीत मिनार शैलीको हाम्रो भूभाग प्रतिकूल धरहराको छाँयाभित्र सधैं हराइरह्यो सुन्धारा । यसको आसपास दूरसञ्चार, सिभिल मल लगायतका विशाल जगमा अडेका भीमकाय कंक्रिटका संरचनाहरु बनिसके । औपनिवेसिक शैलीको धरहरा अब आफैँ कङ्क्रिटको बन्दैछ, अझ विशाल क्षेत्रफल ओगट्दै र अरु संरचनाहरु कोरल्दै सुन्धारालाई नै खर्लप्प निल्दै छ ।
पानी सुकेका मात्र होइन, भग्नावशेषमा परिणत भएका पनि धेरै ढुङ्गेधारा छन् हामी कहाँ । पानी झर्ने मकर आकृतिका शिलामा कुँदिएका मुख टुटेफुटेका छन्, पानी झर्ने चट्टान कुँदेर बनाइएका डुँडहरु यत्रतत्र लडेका छन्, छेवैमा फोहोर र कवाडीको थुप्रो छ । मानौं आधुनिक कवि टीएस इलियटको ‘वेस्ट ल्याण्ड’को एक दृष्य हो यो । यहाँ ‘सुख्खा ढुङ्गाका’ डुँडहरु यत्रतत्र पल्टिएका छन् । तर अँह ‘पानीको कलकल भने छैन ।’ इलियटले भनेजस्तो ‘यहाँ चट्टान मात्र छ, पानी छैन ।’ यस्तो लाग्छ, ‘वेस्ट ल्याण्ड’को एक हिस्सा हो यो उपत्यका र ‘खण्डहर बिम्बहरुको थुप्रो’ भनेको हाम्रै परित्यक्त ढुङ्गेधाराहरु हुन् ।
‘ढुङ्गेधाराको पानी खान नपाउनु हामी ! के ढुङ्गेधाराको पानी खानु भनेको ढुङ्गे युगमा फर्कनु हो ?’ नागरिक आन्दोलनका दौरान नारायण वाग्लेको आक्रोश थियो । प्रशङ्ग टुँडिखेल अतिक्रमणको थियो । कुनै दिन टुँडिखेल लैनचौरदेखि भृकुटीमण्डप हुँदै थापाथलीसम्मै लम्पसार परेको थियो । बस्तीबीचको यो खुल्ला फाँट आम नागरिकको खेल्ने र टहल्ने थलो मात्र थिएन, वर्षाको पानी पर्याप्त मात्रामा सोसेर जमिनमुनि पुर्याउँथ्यो । भूमिगत पानी रिचार्ज गर्ने सामरिक रिचार्जर थियो यो । यसैले रिचार्ज गरेको पानी वर्षभरी ढुङ्गेधाराका माध्यमबाट बाहिर निस्कन्थ्यो र बस्तीलाई काकाकुल हुनबाट बचाउँथ्यो ।
उपत्यकाभित्रका नर्कटघारी र सिमसारहरुको भूमिका पनि त्यतिकै थियो । अहिले सिमसार छैनन्, नर्कटघारी छैनन्, खुल्ला चौर छैनन् । मात्र कङ्क्रिटका संरचना छन् । ढलान, पिच र टायल छन् । घरायसी प्रयोजनबाट निस्किएको पानी पनि सिधै बागमतीमा गएर मिसिन्छ । त्यसैले अहिले ‘हिटी’हरु त छन्, युगौंदेखि लिच्छवि–मल्लकालीन समृद्धिलाई बोकेर जस्ताको त्यस्तै । तर, अहँ पानी बिनाका यो निर्जीव सहरमा हिटीहरु आफैँ मुर्छा परिसकेका छन् ।
ढुङ्गेधाराहरु: ‘खण्डहर बिम्बहरुको थुप्रो‘; त्यसो त हिटी सभ्यताको इतिहास लिच्छवीकालभन्दा पुरानो छ । ढुङ्गेधाराविद् प्राध्यापक सन्ध्या खनालका अनुसार, पाटन मंगलहिटी र हाँडीगाउँको एक ढुङ्गेधारा मानदेवका नाति (छोरीका छोरा) भारवीले निर्माण गरेका थिए । त्यस अघिको किराँतकालमानै छिटफुट रुपमा ढुङ्गेधाराको प्रचलन सुरु भइसकेको तर्क छ, खनालको । भला किराँतहरु विशेषत पोखरीकै पानीमा आश्रित थिए ।
पोखरी र नदीलाई अलग्याएर काठमाडौंका परम्परागत हिटीहरुलाई बुझ्नु अर्को अन्याय हुन जान्छ । उपत्यकाका धेरै हिटीहरुको प्रमुख श्रोत भनेकै नदी र पोखरीहरु थिए । श्रोतका सम्बन्धमा प्राध्यापक खनाल भन्छिन् ‘नदी, पोखरी, राजकुलो, इनार र भूमिगत पानी सबै नै ढुङ्गेधाराका मुख्य श्रोत हुन् ।’ काठमाडौं, पाटन तथा भक्तपुर तीनै दरवारका ढुङ्गेधारामा राजकुलोद्धारा पानी आपुर्ति गरिन्थ्यो । बसन्तपुर दरवारमा बुढानिलकण्ठ, पाटन दरवारमा लुभु तथा भक्तपुरमा महादेवपोखरीको पानी राजकुलोबाट ल्याइन्थ्यो ।
त्यस्तै मैतीदेवीलगायत ठाउँका कतिपय ढुङ्गेधारामा नदिको पानी जमिनमुनिबाट सिधै ल्याईन्थ्यो । काठमाडौंको जमिनको सतह कतै उच्चो र भिरालो हुँदै कतै निचो छ । प्राय ढुङ्गेधाराहरु गहिरो र भिरालो भागमा हुने गरेको छ । माथिल्लो सतहमा वर्षातमा रिचार्ज भएको पानी नै यस्ता ढुङ्गेधारामा मुख्य श्रोत थिए । कतिपय ठाउँमा इनार बनाई त्यसैको पानीलाई ढुङ्गेधाराबाट प्रवाह गर्ने प्रावधान पनि थियो ।
अर्को ढुङ्गेधाराको पानीको प्रमुख श्रोत भनेको पोखरीहरु थिए । पोखरीको पानीलाई विशिष्ट परम्परागत प्रविधिमार्फत ढुङ्गेधारामा प्रवाह गरिन्थ्यो । राजकुलो, पोखरी र ढुङ्गेधाराको सम्बन्ध अटुट थियो । उदाहरणको लागि पाटन लगनखेलमा सप्तपाताल (ठुला–ठुला पोखरी) थिए । तिनमा लुभुबाट आउने राजकुलोको पानी भरिन्थ्यो । त्यही पोखरीबाट फेरी अन्डरग्राउण्ड मार्गद्वारा हिटीमा जल प्रवाह गरिन्थ्यो । लगनखेल नेपाल भाषाको ‘लःख्य’बाट अपभ्रंशित भएको हो । ‘ल’को अर्थ पानी हुन्छ ‘ख्य’ भन्लाले क्षेत्र, ठाउँ या फाँट हुन्छ ।
उपत्यकाको पानीको अर्को प्रमुख श्रोत भनेको भूमिगत जलश्रोत हो । त्यसमा पनि उपत्यकाको अधिकांश ढुङ्गेधारा जहाँ मुल त्यही नै निर्माण गरिएका थिएनन् । ति मुलभन्दा केही वरपर थिए । अलिक सहज र निचो ठाँउमा ढुङ्गेधारा बनाइएको पाइन्छ । मुलबाट ढुङ्गेधारासम्म पानी पुर्याउने पनि उपत्यकाबासीसँग बिशिष्ट रैथाने प्रविधि थियो ।
उपत्यकाको हिटीमा अधिकांश पानी झर्ने टुँटीमा मकरको मुख हुन्छ । मकर गंगाको वहान हो भने पानीका सबै श्रोतहरुलाई गंगाकै रुपमा लिने गरिन्छ । गंगा शिवजीको शिखरबाट बहने मान्यताका कारण हिटीमा शिवको मूर्तिपनि राखिएको हुन्छ, जल अर्पण गर्नको लागि विष्णु, सूर्य र गणेशका मुर्तिहरु पनि हुन्छन् ।
लिच्छविहरु भारतको वैशालीबाट आए, मल्लहरु पावा र कुसिनराबाट । कहीँ कुनै पनि ठाँउमा यस्ता ढुङ्गेधाराहरु छैनन् । यस अर्थमा ढुङ्गेधारा अर्थात् ‘ल्होहिटी’ विशुद्ध काठमाडौं उपत्यकाको मौलिक आविश्कार हो, सभ्यता हो, अनुपम वास्तुकला हो, प्रविधि हो । प्राध्यापक खनाल भन्छिन्, ‘मैले यस्तो ढुङ्गेधारा संसारमा अन्त कहीँ भेटेको छैन, एउटा इन्डोनेसियाको बालीमा छ । त्यो पनि यहीँबाट गएकोले बनाएको हुनुपर्छ ।’
हिटी सभ्यता यहाँको संस्कृतिसँग पनि अभुतपूर्ण रुपमा जोडिएको छ । पाटनको कार्तिक नाच समापनको लागि मंगलहिटी कै पानी चाहिन्छ, चावहिल गणेशस्थानको भैरव जात्राको खट विसर्जन गर्दा नजिकको गंगाहिटीकै पानी चाहिन्छ । उपत्यकाको सभ्यतालाई हिटी सभ्यता भन्नु सायद अनुपयुक्त नहोला । हिटी सभ्यता, संवृद्वी, धर्म र संस्कृतिको बिम्व मात्र थिएन, ल्हुहिटी आफैँमा एउटा ‘पब्लिक स्फेयर्स’ पनि थियो । प्लेटफर्म थियो । सबैको पहुँचको स्थल र सम्पर्क क्षेत्र पनि भएकाले राज्यका सार्वजनिक सूचना, शिलालेख इत्यादि पनि हिटीमै सार्वजनिक गरिन्थ्यो । हिटीमा सार्वजनिक भएको कुरा सर्वत्र छिटो फैलन्थ्यो ।
त्यसो त उपत्यकाको हिटी सभ्यताको गहनता त यहाँका भोटाहिटी, कोहिटी, भँहिटी, नारायणहिटी, थँहिटीजस्ता अनेकौँ ठाउँको नामकरणले पनि देखाउँछ । लिच्छवि–मल्लकालीन ढुङ्गेधारा निर्माण राज्यको वास्तुकला, शिल्पकला, प्रविधि लगायत संवृद्धीको मानक पनि थियो । यसको निर्माण ठूलो शान र सौकतको विषय थियो । ‘जलदान महादान’ भन्ने हेतुले पनि शासक तथा ठूलाबडा ढुङ्गेधारा निर्माणमा अभिप्रेरित हुने गर्थे ।
हामीले अहिले देखिरहेका ढुङ्गेधाराहरू मुर्च्छित छन् तर धेरै धाराहरु मृत अर्थात् लोप नै भइसकेका छन् । अंशुवर्माले निर्माण गरेको भोटाहिटी आज हामीसँग छैन । तीन पुस्ता अघिसम्म स्थानीय भोटाहिटीको पानी पिउँथे । जब वीर अस्पतालको भवन बनियो भोटाहिटी पुरियो । २०४५ सालमा जब रत्नपार्कको अन्डरग्राउण्ड सबवे लागि जमिन खनिएको थियो, सातओटा डुँड र मुख भएको भोटाहिटी निस्किएको थियो । प्राध्यापक खनालका अनुसार त्यतिबेला पनि धारामा प्रशस्त पानी बगिरहेको थियो । विरोधका बावजुत भोटाहिटीको संरक्षण गरिएन । त्यही ठाउँमा सबवे बनाइ छोडियो ।
भोटाहिटी रानीपोखरीको ठिक पश्चिम–दक्षिण कुनामा थियो । पोखरीको उत्तर–पश्चिम कुनो (हाल आरसिटी क्लवको भवन रहेको स्थल)मा अर्को ‘भङ्गल ठक्कुहिटी’ भएको अनुसन्धानले देखाउँछ । त्यसो त रानीपोखरीकै पूर्व–उत्तर तर्फ तिनधारा छ । जसलाई फेरि पुरातत्व विभागले पुनस्र्थापित गर्दैछ । त्यति मात्र होइन, रानीपोखरीको दक्षिण–पूर्व (अहिलेको भक्तपुर बसपार्क–विद्युत् प्राधिकरण) आसपास पनि अर्को ढुङ्गेधारा भएको आशंका गरिन्छ । यद्यपि, उत्तर–पश्चिमको भंङ्गलठक्कु हिटी र दक्षिण–पूर्वको यो ढुङ्गेधारा अझै भेटिएको छैन । जे होस् यी चार ढुङ्गेधाराको पानीको निकास भनेको रानीपोखरी नै थियो । यिनै चार हिटीले रानीपोखरीलाई जीवन्त राखेका थिए ।
हिटीको सबैभन्दा सशक्त पक्ष भनेको त्यसको मौलिक र अनुपम प्रविधि नै हो । हिटीको बाहिर देखिने वास्तु जत्तिको सुन्दर छ, जमिनमुनिको पानी प्रवाह गर्ने, नाली, डुँड, आगा (आक्युफायर वा अन्डरग्राउण्ड ट्याङ्क)तथा अटल (पानी छान्ने ठूला घ्याम्पा)को ब्यवस्थापन आफैंमा कम रहस्यपूर्ण भने छैन ।
पुर्खाहरुले कसरी निर्माण गरेका थिए त यो प्रविधि ? धेरै हिटीहरु पुनर्निमाण गरिसकेका ढुङ्गेधाराविद् तथा ढुङ्गेधारा बचाउ अभियन्ता सुशील श्रेष्ठ भन्छन्– उपत्यकाको जमिनभित्र कतिपय ठाउँमा ३–४ फिट मुनिबाट असंख्य भूमिगत स–सना खोला जस्तो जलप्रवाह हुन्थ्यो । अहिले पनि कतैकतै छ । पुर्खाहरुले खनेरै त्यो पत्ता लगाउँथे । त्यसपछि पानीको मात्रा र आवश्यकता अनुसार आगा बनाउँथे । त्यसपछि धारा कहाँ आवश्यक छ त्यहाँ त्यो आगाको पानी बगेर आउने गरि गहिरो ठाउँमा पानीको निकास सहितको ठूलो खाल्डो वा भूभागमा ढुङ्गेधारा बनाइन्थ्यो । आगाबाट ढुङ्गेधारासम्म नाली खनिन्थ्यो । नालीमा माटोबाट बनार्ईएका २ देखि ४ फिटका डुँडहरु क्रमस ग्रिप मिलाएर बिच्छ्याइन्थ्यो । डुँडबाट पानी नचुहियोस् भनेर फेरि त्यसमा गँथिचा (एकदमै लिसाइलो माटोबाट बनाइएको वाटरप्रुफ लेप) दलिन्थ्यो । पुटिन जसरी लगाइएको गथिचाको लेप पानीको वहावले पनि बिगार्दैन थियो ।
माटोबाट बनाइएका २ देखि ४ फिटका डुँडहरुः यति मात्र होइन, पानी शुद्धिकरण गर्न आवश्यकता अनुसार नालीको ठाउँ ठाउँमा अटल पनि राखिन्थ्यो । कुनै–कुनै मानव निर्मित यस्ता भूमिगत नाली (च्यानल ) यति लामो हुन्थ्यो कि पाटन नागवहालको एउटा हिटीको मुहान पुलचोकमा छ ।
पाटन क्षेत्रमा मात्र ६२, भक्तपुरमा ८० र काठमाण्डौंमा ४०० जति ढुङ्गेधारा छन् । काठमाण्डौं र भक्तपुरमा पुरिएका नयाँ धाराहरु भेटिने क्रम जारी छ । तर सबै हिटीको हालत उस्तै छ । त्यसो त पाटनका ढुङ्गेधारा सुक्न थालेको धेरै पनि भएको छैन । श्रेष्ठका अनुसार, मंगलहिटी ६५ सालबाट र आलोक हिटी ६९ सालबाट सुक्न थालेका हुन् । ६० साल सम्म आलोक हिटीमा सुख्खा मौसममा प्रतिदिन २५,००० र वर्षा याममा ५०,००० लिटर पानी आउँथ्यो ।
श्रेष्ठले आलोकहिटीको आगा (अन्डरग्राउण्ड रिजर्भ)को २ इन्च तलबाट पानीलाई निकास दिँदै आलोक हिटीलाइ पुनर्जीवित बनाएका थिए । तर यो दिर्घकालिन समाधान भने थिएन । एकातिर घरघरको बोरिङ्गका कारण हिउँदमा पानीको सतह हिटीको मुहान भन्दा तल पुग्थ्यो । अर्कातिर बर्षामा पानीको सतह बढ्दा आगाबाट दुईइन्च घटाएर पानीको निकास दिँदा धारामा पानीको फोर्स यति बढ्यो कि पानी थाप्न नै सकस प¥र्यो । यसबाट सजिलै अनुमान गर्न सकिन्छ, आगा, डुँड, अटल र नाली व्यवस्थापनमा हाम्रा पुर्खाहरुले प्राविधिक कुशलताको स्तर ।
श्रेष्ठ हिटि सुक्नुको मुख्य दोष डिप–बोरिङलाई दिन्छन् । उनका अनुसार, जब जलाधार क्षेत्रमै पाटन औद्योगीक क्षेत्र बनाइयो र डिप बोरिङ्ग गरियो, यसकै कारण सिंचाहिटी, नुगुहिटी, कन्बा हिटी, थपाहिटी र ट्यागहिटी ठप्पसँग सुकेका थिए । सुन्धारा सुक्नुको कारण पनि श्रोतभन्दा तल पानीको सतह पुग्नु नै हो । तर श्रेष्ठ एकदमै आशावादी र उत्साहित छन् । मुर्झीएका धाराहरु कुनै पनि बखत बहुराउनेमा उनी ढुक्क छन् । तर यसको लागि पानीको वाह्य आपूर्ति सहज पार्नुपर्छ र बोरिङ्गलाई भने पूर्ण निषेध गर्नुपर्छ ।
‘काठमाण्डौं मलले सुकाएको सुन्धारालाई पनि म सजिलै ब्युँझाउन सक्छु’ श्रेष्ठ उत्साहित थिए । टुँडिखेल आफैँमा एउटा जलाधार हो । त्यहाँ ४–६ फिट खनेर भूमिगत पानी पत्ता लगाइ, आगा राखेर नयाँश्रोतबाट सुन्धारा जगाउन सकिन्छ । उनको तर्क थियो । तर हिटीमात्र भएर हुन्न त्यसको निकास पनि चाहिन्छ । सुन्धाराको निकास विष्णुमती हो र त्यो निकास मेटिइसकेको छ । ‘त्यसैले नयाँ श्रोतबाट पानी ल्याएर धारा थोरै उठाउँदै निकास सहज बनाउनुपर्ने हुन्छ,’ श्रेष्ठले बताए । श्रेष्ठ अहिले पुरातत्व विभागको सहकार्यमा तिनधारालाई पुनर्जीवन दिदैँछन् । श्रेष्ठजस्ता जागरुक शिल्पीको शाहसले भन्छ, ‘यो निर्जीव सहरमा हिटीहरु मृत भने भैसकेका छैनन्, मात्र मुर्झाएका हुन्, जसलाई जुनसुकै समय ब्यूँझाउन सकिन्छ ।’
मंगलहिटी, पाटन: अनुभवले भन्छ, जमिनमा प्रशस्त मात्रामा भुमिगत पानीको रिचार्ज हुन सके यिनले फेरि पुनर्जीवन पाउनेछन् । तमिलनाडुको भेलोर डिस्ट्रिकतिर फर्कौं । मोङ्ग्वेको ३३ फेब्रुअरीमा प्रकाशित लेख ‘ह्वेन अन आर्मी अफ ओमेन केम टुगेदर टु रिभाइभ अ रिभर’का अनुसार, भेलोर जिल्लाका अधिकांश जलश्रोतहरु सुक्दै थिए नागा र पालार नदिमा पानीको सतह अस्वभाविकसँग घटेको थियो । पानीकै कारण स्थानीयहरु थातथलो छोड्दै थिए । भेलोरको नागा नदि किनारको गाउँ सलमानाथम पनि समस्याबाट अछुतो थिएन ।
तर भेलारकै १२०० महिलाहरुको एक स्वयंसेवी जमातले बर्षाको पानी रिचार्ज गर्न त्यस गाउँमा २०१४ देखि २०१७ सम्ममा ३६ वटा ठुलो रिचार्ज इनार र थुप्रै चेक ड्यामहरु बनाए । त्यसपछि पानीका श्रोतहरुले पुनर्जीवन मात्रै पाएन, सुक्दै गएको पालार र नागा नदीको पानीको सतहमा समेत बृद्धि भयो । अरु २० गाउँमा पनि त्यस्तै गर्दै कुल ३४९ रिचार्ज इनार २०७ चेक ड्याम बनाइयो । अहिले आएर त्यहाँको पानीको समस्या समाधान भएको छ । यो अभियानमा सहभागीमध्ये ९९ प्रतिशत महिला थिए । यसको अर्थ भुमिगत पानी रिचार्ज गर्ने हो भने हाम्रा हिटीहरुले पनि प्राकृतिक रुपमै पुनर्जीवन पाउनेछन्, लिच्छवि–मल्लकालीन लयमै फर्कनेछन् ।