काठमाडौं, २० चैत्र । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । अपरान्ह २ बजेका लागि तय भएको बैठकले सरकार गठन र महाधिवेशनबारे छलफल गर्ने भएको छ ।
विशेषगरी काँग्रेस सरकारमा सहभागी हुने या नहुने भन्नेबारे बहस चल्ने बुझिएको छ । काँग्रेसभित्र तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनी विरोधी पार्टीको समिकरण बनाउने दबाब छ । तर, सभापति शेरबहादुर देउवा पर्ख र हेरको रणनीतिमा छन् ।
देउवालाई सरकारको नेतृत्वका लागि बढ्न समेत दबाब छ । उनले माओवादी केन्द्रको साथ पाउनेमा विश्वास गरेपनि जनता समाजवादी पार्टीबाट विश्वास गर्न सकिरहेका छैनन् । यसकारण ओली नेतृत्वको सरकार ढाल्ने प्रयास सफल हुन सकिरहेको छैन ।
यसैगरी, काँग्रेसभित्र महाधिवेशनको विषय जोडतोडले उठिरहेको छ । भदौभित्र गर्नुपर्ने महाधिवेशनमा क्रियाशील सदस्य वितरणमा अझै विवाद टुंगिएको छैन ।