काठमाडौं, २० चैत्र । नेपाली काँग्रेसभित्र सरकारको नेतृत्व गरे बढ्ने या पर्खने विषयमा विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा अवस्था परिपक्व नभएको भन्दै सरकारको नेतृत्वका लागि बढ्न नहुने पक्षमा छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारको नेतृत्वका लागि बढ्नुपर्ने पक्षमा छ ।
आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिकाप परिवर्तनका अलावा सरकारमा जाने विषयमा विवाद हुने भएपछि ढिलाई भएको छ । देउवा र पौडेल समूह आ आफ्नो रणनीति तयार गर्न छुट्टाछुट्टै बैठक बसेका छन् । उनीहरुले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्तावबारे छलफल गरेका हुन् ।
पौडेल समूहले देउवा सरकारको नेतृत्वका लागि तयार नहुने हो भने मार्ग प्रशस्त गर्नुपर्ने विषय उठाउने भएको छ । काँग्रेसको विधान अनुसार संसदीय दलको नेता प्रधानमन्त्री बन्न सक्नेछ । देउवा संसदीय दलका नेता छन् । प्रधानमन्त्री केपी शर्मा ओलीइतरको समिकरण बनाउन देउवा तयार भइरहेका छैनन् । पौडेल समूह भने देउवाको विकल्पमा संसदीय दलको नेतामा अर्को नेतालाई बढाउने पक्षमा देखिएको छ । यो प्रस्ताव लानेसम्मको तयारी भएको विश्वस्त स्रोतले बताएको छ । ‘सरकारको नेतृत्वका लागि देउवाजी तयार नभए विकल्पका लागि अर्को कसैलाई सार्ने गरी प्रस्ताव गर्दैछौं,’ पौडेल निकट एक नेताले रिपोर्टर्स नेपालसँग भने ।
काँग्रेसभित्र देउवाको विकल्पमा महामन्त्री डा.सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइरालालगायत प्रधानमन्त्रीको दाबेदार देखिएका छन् । पौडेल समूहबाट प्रकाशमान सिंह मुख्य दाबेदार देखिएका छन् । उनी यसअघि संसदीय दलको नेताको चुनावमा देउवासँग प्रतिष्पर्धा गरी पराजित भएका थिए ।
यसैगरी, महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न खोजेपछि पौडेल समूह असन्तुष्ट भएको छ । एक वर्ष पछि धकेलिएको काँग्रेस महाधिवेशन भदौका लागि तय भएको छ । तर, कार्यतालिका परिवर्तन गर्न खोजिएपछि पौडेल समूह असन्तुष्ट भएको छ ।-फाइल तस्बिर