Logo

कोभिड खोपका लागि विश्व बैंकद्वारा ७.५ करोड अमेरिकी डलर सहयोग



काठमाडौं, चैत २१ । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर (करीब ८ दशमलव ७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय( सान्दर्भिक सहयोग पुर्‍याउने अर्थसचिव शिशीर कुमार ढुंगानाले बताए ।

उनका अनुसार कोभिड( १९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड( १९ विरुद्धका खोपहरूको खरीदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोपसेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ।”

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलव ९ करोड अमेरिकी डलर (३ दशमलव ३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीआयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्ने छन्।



प्रतिक्रिया दिनुहोस्