काठमाडौं, चैत २१। काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आजबाट राजधानीको फोहोर उठ्ने भएका । आठ दिनपछि फोहोर विसर्जनमा गरिएको अवरोध हटेको छ ।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको थियो ।
लामो समयको अवरोधपछि शुक्रबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला भएको हो ।