बैतडी, चैत २१ । बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो ।सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए ।
फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ ।
फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।
अधिकारीले भने, “८० प्रतिशतसम्म फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । सुरुमै फलाम भेटिँदा भने हामी उत्साहित बनेका छौँ । ”फलामखानी सञ्चालनमा आए रोजगारी सिर्जना हुने सिगा गाउँपालिका–१ का वडाध्यक्ष गगनसिंह धामीले बताए ।
धामीले भने, “गाउँमा रोजगारी नहुँदा भारत जानुपर्ने बाध्यता छ । खानी उत्खनन हुनसके गाउँमै रोजगारी सिर्जना हुन्छ । ”फलामखानीको विस्तृत अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको अध्यक्ष धामीले बताए ।
यसअघि बैतडीको पुरचौडीमा रहेको फलाखानीबाट स्थानीयले भाँडाकुडा बनाउने गरेका थिए । द्वन्द्वकालमा बन्द भएको पुरचौडीको फलामखानीमा अहिले पनि करिब तीन सयभन्दा बढी खाल्डा रहेका छन् ।
पुरचौडीको फलामखानी निरीक्षण गर्न खानी तथा भूगर्भ विभागको टोली आए पनि फलाम उत्खननको काम अगाडि नबढेको पुरचौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले बताए ।रासस