गुलरिया, चैत २२ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ९ खैरेनीकी सीतादेवी अधिकारी होमस्टे संचालन गर्न पाएकोमा खुसी छिन्। विहान, वेलुका पाहुनाको रोजाई अनुसारको खाना खुवाउने अनि दिन भरीको घरधन्दा उनको दिनचर्या बनेको छ। परम्परागत खेती र दुई चार गोटा बाख्रा पालन गरेर जिविकोपार्जन गर्दै आएकी अधिकारीले समुदायको पहलमा सामुदायिक बन तथा प्राकृतिक स्थानिय सत्खलुवा ताल संरक्षणमा जुटेपछि पर्यटकहरू बढेको सुनाईन्। पाहुनाहरू आउनथालेपछि यतिखेर सत्खलुवा होमस्टे स्थानियको आम्दानीको स्रोत बनेको छ।
कोभिड महामारीका बेला पर्यापर्यटन थलिएपनि बारबर्दिया नगरपालिका अन्र्तगत सामुदायिक बनक्षेत्रमा रहेको प्राकृतिक सत्खलुवा ताल अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढेको छ। हामीले सत्खलुवा होमस्टे संचालनमा ल्याएपछि पाहुनाहरू आउने क्रम बढेको छ। सीतादेवीले भनिन् –‘देशका विभिन्न स्थानबाट आउने नयाँ नयाँ पाहुनासँग भेटहुन पाउँदा खुशी लाग्छ। शुरु शुरुमा कस्तो हुने हो भन्ने डर लाग्थ्यो। अचेल खेतीपाती र बाख्रापाल्न छाडेर होमस्टे संचालन गरेकी छु।’
पर्यटकहरू होमस्टेमा रात विताउन थालेपछि आयआर्जन बढेको छ। उनले थपिन् –‘होमस्टेको आम्दानीबाट राम्रैसँग घरखर्च टरेको छ। होमस्टेको गास र वास होटलहरूको भन्दा सस्तो छ।’
मितब्ययिता र जैविक, घरको जस्तै खानपान हुने भएकाले पनि पर्यटकहरू होमस्टे मन पराउँछन्। सत्खलुवा होमस्टेको आफ्नै विशेषता छ। वाहुन, गुरुङ, मगर जातीले संचालन गरेको होमस्टेमा जातिय विविधताको अलौकिक मिश्रण रहेको पाईन्छ। परिकार, भेषभुषा लगायत फरक आतिथ्यता सत्खलुवा होमस्टेको विशेषता रहेको पाईन्छ। खैरेनीमा २० जनाले सत्खलुवा होमस्टे संचालन गरेका छन्।
पर्यटनको चाँप बढेसँगै निकट भविष्यमा होमस्टे थप्ने तयारी भैरहेको उनको भनाई छ। मकवानपुरको हेटौंडाबाट सत्खलुवा ताल घुम्न आएकी पर्यटक नयन्सी उपाध्याय सत्खलुवा होमस्टेको आतिथ्यताबाट मुग्ध भएको वताउँछिन्। होमस्टेले गरेको स्वागत, खुवाएको खाना धेरै राम्रो लाग्यो। उनले भनिन् –‘प्राकृतिक सत्खलुवा तालको सुन्दरता अनुपम छ। वन्यजन्तु लगायत पंक्षी अवलोकनगर्दै तालमा डुँगा शएर गर्दा फेवाताल विर्सायो।’ सत्खलुवा क्षेत्रलाई स्थानियले थप पहलगर्दै अझै ब्यवस्थित गर्न सके पश्चिम क्षेत्रकै राम्रो पर्यटकिय गन्तब्य बन्न सक्छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट