बुटवल, चैत २२ । २०४ वर्षअघि नेपाली फौजले अंग्रेजलाई परास्त गरेको बुटवलको ऐतिहासिक जिगतढी किल्लाको इतिहास बचाइराख्न बुटवलमा युद्ध संग्रहालय बनाइने भएको छ। नेपाल–अंग्रेज युद्धको पुरानो झल्को दिनेगरी बुटवल उपमहानगरपालिका–१ स्थित जितगढी किल्लानजिकै जितगढी युद्ध संग्रहालय बनाउन लागिएको हो।
ऐतिहासिक सहर बटौली र जितगढीको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटकीय विकासका लागि बुटवल उपनगरपालिकाले संग्रहालय निर्माण गर्न लागेको हो। करिब ३ कट्ठा जमिनमा बन्न लागेको संग्रहालय चारतले हुनेछ। माथिका तीनवटा तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार पाइने गरी क्याफे राखिने छ। भुइँतलामा समग्र बुटवललाई चिनाउने विभिन्न सामग्री मायाको चिनोस्वरूप राखिएको ‘सोभिनियर सप’ पनि राखिनेछ।
संग्रहालयले नेपाल–अंग्रेज युद्धका बेला प्रयोग भएका हतियार, युद्धकला, पहिरनसँगै रेशम मार्ग, नुन र घिउको कारोबार हुने बटौलीको सांस्कृतिक झल्को दिने दाबी गरिएको छ। पुरानो र आधुनिक बुटवलको पहिचान झल्काउन, नयाँ पुस्ता र आगन्तुकहरूलाई त्यसबारे जानकारी गराउन र समग्र बुटवलको पहिचान झल्कने गरी संग्रहायलय निर्माण गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए। जितगढी बुटवलको मात्रै नभई सिंगो मुलुकको राष्ट्रिय स्वाभिमान, सान र गौरव भएको भन्दै उनले जितगढीको इतिहासलाई जीवन्त राख्न संग्रहालय निर्माण गर्न लागिएको बताए।
६ करोड ८२ लाख ५० हजार रूपैयाँको लागतमा संग्रहालय निर्माण हुन लागेको नगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले बताइन्। दुई वर्षमा संग्रहालय निर्माण सम्पन्न गर्ने गरी उपमहानगरपालिका र शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिबीच गत माघमै ठेकका सम्झौता भएको हो। तोकिएकै समयमा निर्माण सक्नेगरी आायोजनाको समन्वय गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए। बुटवल–१ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट पनि संग्रहालय निर्माणमा सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए। नागरिक दैनिकबाट