काठमाडौं, चैत २४ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनताको पक्षमा काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले बिजनेश नदिँदा प्रभावकारी बन्न नसकेको संसद् बैठकमा सोमबार शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरूले सरकारको आलोचना गरेका हुन् ।
शून्य समयमा प्रतिपक्ष दलका सांसदहरूले सरकार भ्रष्टचारमा लागेको आरोपसमेत लगाएका छन् । तर। सत्तारूढ दल नेकपा एमालेका सांसदहरूले भने सरकारले राम्रो काम गरेको भन्दै बचाउ गरेका छन् ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको आरोप लगाउनुभयो । सर्वोच्च अदालतको निर्णयपछि सरकारले निकास नदिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिने कि नलिने?’
नेपाल माओवादी केन्द्रका सांसद शशि श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्वपूर्ण दस्तावेजसम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे छलफल हुन नसक्नु विडम्बना भएको बताए ।
नागरिकताको विषय निकै गम्भीर भए पनि सरकारले विधेयक अगाडि बढाउन कुनै चासो नदेखाएको उहाँको आरोप थियो । उनले नागरिकताको विषयमा समितिलाई दोष लगाउने कामप्रति गम्भीर असहमति जाहेर गर्दै भने– ‘सदन शोक प्रस्ताव र सामान्य प्रतिवेदन पेस गर्ने कार्यमै अल्झिरहेको छ, यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ ।नेपाल समाचारपत्र दैनिकबाट