काठमाडौं, चैत २४ । भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्।
नेपाल भित्रिरहेकामध्ये कतिपयमा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरशाट नेपाल भित्रिइरहेकाबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ।
गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चलेको थियो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो। भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपाली सीमानजिकका भारतीय बजारका क्वारेन्टिनमा करिब २ महिना बढीसम्म बसेका थिए।
त्यसबेला भारतमा रहेका नेपालीलाई प्रवेश गर्न दिइएपछि नेपाल भित्रिनेको घुइँचो लाग्यो। मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाउँदा र परिवारमा बालबच्चाको पेट पाल्नै समस्या भएपछि भदौदेखि पुनः भारततिरै लागेका थिए। अहिले भारतमा नयाँ प्रकारको कोरानाको भाइरसको संक्रमण देखा परेको र तीव्र रूपमा संक्रमण फैलिएपछि पुनः नेपाल फर्कन थालेका छन्।
सोमबार सुदूरपश्चिममा गौरिफन्टा र गड्डाचौकी नाकावाट १३ सय ३४ जना भारताबाट भित्रिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताएका छन्। पछिल्लो एक सातामा ७ हजार ५६ जना भारतवाट यि नाका हुदै सुदूरपश्चिम भित्रिएको उनले बताए। ‘भारतवाट सुदूरपश्चिम भित्रिनेको संख्या केही दिनयता बढ्दै गएको छ,’ उनले भने। सुदूरपश्चिममा नयाँ वर्षको अवसरमा मनाइने बिसु पर्वका लागि र भारतमा कोरानाको संक्रमण तीव्र रूपमा फैलिएको कारण समेत घर फर्कने बढेको उनी बताउँछन्।
तर स्वास्थ्य कार्यालय कैलालीले मंगलबारबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। भारतबाट आएका लक्षण देखिएका संक्रमितलाई उक्त आइसोलेसनमा राखिएको समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
धनगढी उप–महानगरपालिका–१५ कनरीमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरमा करिव ५० जना संक्रमित उक्त आइसोलेसनमा राखिएको उनले बताए। भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पनि देखा परेको उनले बताए। नागरिक दैनिकबाट