काठमाडौं, चैत २५ । काठमाडौं उपत्यकामा हाल चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले थप चारओटा थप्ने भएको छ । २५ ओटा विद्युतीय बस खरीदका लागि केही समयअघि चिनियाँ कम्पनी बीएकेलाई प्रस्ताव पठाइएकोमा पहिलो चरणमा चारओटा आउन लागेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
पहिलो चरणमा आउने बस वैशाखभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी अध्यक्ष थापाले दिए । ‘चिनियाँ कम्पनीले बस नेपाल पठाउने प्रक्रिया अघि बढाइसकेको छ,’ उनले भने, ‘वैशाखदेखि नै चलाउने तयारीमा छौं ।’
कम्पनीले ट्रली बस बन्द भएको १८ वर्षपछि २०७६ भदौ अन्तिम सातादेखि काठमाडौं उपत्यकामा चारओटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । त्यतिबेलै कम्पनीले एक वर्षभित्र थप २५ ओटा विद्युतीय बस चलाउने घोषणा गरे पनि कोरोना महामारीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । कम्पनीले प्रतिबस करसहित रू। १ करोड ७२ लाखमा खरीद गर्न लागेको जानकारी थापाले दिए । ४० सीट क्षमताका ती बस अपांतामैत्री रहेको र एकपटकको चार्जमा २६५ किलोमिटरसम्म गुड्न सक्ने उनले बताए ।
हाल कम्पनीले चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी विद्युतीय बस सञ्चालन गरिरहेको छ । केही समयअघि परीक्षणका रूपमा काभ्रेको बनेपासम्म एउटा बस चलाएको कम्पनीले नयाँ बस आएपछि उक्त रूटमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । कम्पनीले त्यसबीचमा चार्जिङ स्टेशन पनि बनाउने बताएको छ । हाल सीतापाइला, चाबहिल र सुकेधारामा कम्पनीका तीनओटा चार्जिङ स्टेशन छन् ।
सरकार आफैले पनि विद्युतीय बस चलाउने तयारी गरेकोमा हालसम्म सञ्चालन गर्न सकेको छैन । आर्थिक अभियान दैनिकबाट