Logo

कर्णालीमा कोरोना जोखिम बढ्दै



सुर्खेत, चैत २५ । कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुईजना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैतेदसैंको पूर्वसन्ध्यामा कमाउन कालापहाड (भारत) बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम बढ्न थालेको छ। सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १६ पुगेको छ। दुईजना कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

‘चैतेदसैं र नयाँ वर्ष मनाउन भारत गएकाहरू घर फर्कने क्रम सुरु भएसँगै कर्णालीमा कोरोनाको जोखिम पनि सुरु भएको छ,’ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘त्यसैले भारत र प्रदेशबाहिरबाट आउने नागरिकको तथ्यांक संकलन र ज्वरो जाँचका लागि नाकामा हेल्थडेक्सको स्थापना गरेका छौं।’

प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतका बबई, कुइने र सुर्खेत विमानस्थलमा हेल्थडेक्स स्थापना गरेको छ। भारत, तेस्रो मुलुक र कर्णाली बाहिरबाट आउने नागरिकको तथ्यांक संकलनका लागि नाकामा स्वास्थ्यकर्मीसहित प्रहरी खटाइएको छ। ‘भारतमा कोरोना संक्रमितहरूको संख्या दिनदिनै बढ्न थालेपछि प्रदेश सरकारले त्यहाँबाट आउने कर्णालीका नागरिक तथ्यांक संकलन गर्न र ज्वरो जाँचका लागि नाकाहरूमा एक सातादेखि हेल्थडेक्सको स्थापना गरेको हो,’ उनले भने, ‘१००।२ फरेनहाइटभन्दा माथि ज्वरो देखिएमा तत्कालै कोरोना परीक्षणको व्यवस्था मिलाएका छौं।’

हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पिसिआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई प्रदेश सरकारले तयारी अवस्थामा राखेको छ। प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनलाई पुनस्र्थापना गरिएको छ। गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि दुई सय बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ भने सबै पालिकाहरूले केन्द्रमा आइसोलेसन तयारी अवस्थामा राखेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्