काठमाडौं, चैत २७ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को फागुनसम्ममा नेपालबाट हुने सफ्टवेयरको निर्यात ह्वात्तै घटेको छ । परिमाणको आधारमा चालू आवको ८ महीनामा सफ्टवेयरको निर्यात करीब ८९ प्रतिशतले घटेको छ ।
भन्सार विभागबाट प्राप्त चालू आवको फागुन महीनासम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा नेपालबाट चारओटा मात्र सफ्टवेयर निर्यात भएको छ । विभागका अनुसार ९ लाख ४२ हजार रुपैयाँ बराबरका ती सफ्टवेयर जापानमा निर्यात भएका हुन् ।
गत आवको सोही अवधिमा नेपालबाट १ करोड ८० लाख ७२ हजार बराबरको ३६ ओटा सफ्टवेयर निर्यात भएको थियो । त्यसबेला चीनमा ६ र जापानमा ३० ओटा सफ्टवेयर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । रकमका आधारमा चीनमा ४५ लाख ९६ हजार रुपैयाँ र जापानमा १ करोड ८० लाख ७२ हजार रुपैयाँको सफ्टवयेर निर्यात भएको थियो ।
अघिल्लो आव २०७५/७६ भरिमा २ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको ४८ ओटा सफ्टवेयर निर्यात भएको थियो । गत आवदेखि नै सफ्टवेयर निर्यातमा कमी आएको तथ्यांकले देखाउँछ ।
कोरोना महामारीको अवधिमा विश्वका अधिकांश मुलुकका सूचना प्रविधि (आईटी) क्षेत्रले फड्को मारेका छन् । तर, नेपालको आईटी क्षेत्रले भने फड्को मार्न नसकेको यस तथ्यांकले स्पष्ट पारेको छ ।आर्थिक अभियान दैनिकबाट