काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आफ्नो पार्टीको संख्याले बैठक बोलाउने पनि संख्या नपुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भने,‘हामीले बास्तविकता हेर्नुपर्छ, हाम्रो संख्याले पार्लियामेन्ट बोलाउनपनि संख्या पुग्दैन् । हामीसँग त एक चौथाई पनि संख्या छैन् । पहिला कुरा बुझ्नुपर्यो । मैले पहिले पनि भनेको थिएँ, कम्युनिष्टको सरकार आयो भने रुनपनि पाईँदैन भनेको थिएँ । भोट त कम्युनिष्टलाई दिए । जनताको घरदैलोमा जाऔं । जनताको हृदय जितौं । जनताको भोट लिनुपर्छ । कांग्रेसले धाँधली गर्न जानेको छैन् ।’
सभापति देउवाले समानुपातिकमा आफ्नो दल र नेकपा (एमाले) बराबरी रहेको पनि सुनाए । आफूले त्यतिवेला प्रचण्डलाई प्रधानमन्त्री बन्न भनेको सुनाउँदै अहिले बल्ल प्रचण्डले थाहा पाएको भन्दै कडा आलोचना गरे । उनले भने,‘खुट्टै नटेक्ने मान्छे प्रचण्ड, अहिले ओलीले लात हानेपछि ठिक भएको छ । अहिलेपनि म त ओली हटाउन लागेकै छु, तर संख्या पुग्नुपर्यो नि । मैले आफू प्रधानमन्त्री चाहेको छैन् । संख्या पुग्नुपर्यो नि । हामीले बास्तविक धरातलमा बसेर काम गरौं ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम