Logo

देउवा निवास छिर्नुअघि जसपाका नेताहरु बुढानिलकण्ठमा छुट्टै छलफलमा



काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा जसपाका नेताहरु पुगेका छन् । देउवा निवास बुढानिलकण्ठमा बस्ने तीन दलको बैठकका लागि जसपा नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । तर, उनीहरु सभापति देउवाको घर छिर्नुअघि छुट्टै सामूहिक छलफलमा बसेका छन् ।

देउवाले कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक डाकेका छन् । आजको बैठकमा नयाँ सरकार बनाउनेबारे ठोस निर्णय लिने बुझिएको छ । यसको लागि आज निर्णायक छलफल गर्ने देउवाको तयारी छ । तर, जसपाभित्र दुई धार देखिएकाले आजै ठोस निर्णय हुनेमा आशंका छ । तीन दलको बैठकमा सहभागी हुन बुढानिलकण्ठ पुगेका जसपाका नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई भने छुट्टै छलफलमा बसेका छन् ।

कांग्रेस सभापति देउवाले आजै राजधानीमा भएको एक कार्यक्रममा सके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने नभए चुनावमा जान कांग्रेस तयार हुनुपर्ने धारणा राखिसकेका छन् । कांग्रेसभित्र पनि ओली सरकारलाई हटाउने र निर्वाचनमा जाने बारे दुई पक्ष छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीलाई विदाई गरेर तीन दलको संयुक्त सरकार बनाउनुपर्ने अडान राखेका छन् । तर, सभापति देउवाले भने आफ्नो पार्टीसँग संसद् बैठक बोलाउने संख्यासमेत नभएको भन्दै सके हटाउने नसके चुनावमा जानुपर्ने भनाई राख्दै आएका छन्। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्