काठमाडौं, २७ चैत्र । कैलाश श्रेष्ठको नाममा ९ असोज २०६२ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको थियो । उक्त नागरिकतामा भूमिका श्रेष्ठ नाम परिवर्तन गरी लिङ्गमा अन्यबाट महिला कायम गरी प्रतिलिपी जारी गर्न निवेदन प्रक्रियासंगत रुपमा मन्त्रिपरिषद्मा पुग्यो ।
गृह मन्त्रालयले क्याबिनेटमा लगेको उक्त प्रस्तावमाथि निर्णय भई स्वीकृत प्रदान भएको छ । अब नागरिकताको प्रतिलिपीमा कैलाश श्रेष्ठ भूमिका श्रेष्ठ भएकी छिन् । उनले लिङ्गमा यसअघि अन्य राखेकोमा महिला राखिएको छ ।
यो निर्णय २३ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । यसको जानकारी आज सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन् ।
कैलाश श्रेष्ठको नाममा भूमिकाले काठमाडौं जिल्लाबाट नागरिकता लिएकी थिइन् । नागरिकतामा उनको जन्ममिति २०४४ साल र बाबुको नाम कुमार श्रेष्ठ रहेको छ । उनको नागरिकता नम्बर २३०७४५४६३८ रहेको छ । श्रेष्ठ लामो समय निल हिरा समाजमा आवद्ध भइन् । उनी तेस्रो लिङ्गीको अधिकारका लागि सक्रिय रहिन् । –तस्बिर स्रोतः किल नाइट