Logo

आखिरी फैसला     



डा. राजेन्द्र परदेशी : जबसम्म मैथानी साहब नोकरी गर्थे, तबसम्म सबै ठीकठाक चल्दै थियो । यो पनि भन्न सकिन्छ कि घर– गृहस्थीको गाडी उनको इच्छा अनुसार नै चल्दै थियो तर जब अवकास प्राप्त भए जागिर त गयो नै आफ्ना र आफन्त पानि टाढा हुन थाले । सबैभन्दा पहिले उनकी जीवनसाथीले नै जिन्दगीरूपी गाडी एक्लै तान्नको निम्ति उनलाई छोडेर गइन् सायद उनी भविष्य द्रष्टा थिइन् । उनी जान्दथिइन् कि उनको लोग्ने जसको लागि रगतपसिना एक गरेर जे बनाइरहेका छन्, तिनीहरू सबै अवसर पाउनासाथ उनलाई तिरस्कार र उपेक्षा गर्न एकछिन पनि ढिला गर्दैनन् । सायद उनले आफ्ना छोराहरूका आँखामा स्वार्थको चस्मा लागेको देखिसकेकी थिइन् र त्यतिबेला आफ्नो लोग्नेको अपमान तिनी सहन सक्दिन थिइन् । त्यसैले होला आफ्नो जीवन साथीलाई बीच बाटोमा नै छोडेर गइन् उनी ।

स्वास्नीसँगको  बिछोड  लगत्तै मैथानीसाहबका छोराहरूले आफ्नो असली रङ्ग देखाउन सुरु गरे । आमा हुँदा त्यसको प्रतिवाद गर्थिन् तर मैथानी साहबले देखेर पनि नदेखेकोझैँ गरे । यसो गर्नु सायद उनको विवशता हुँदो हो । त्यसैले त सबभन्दा पहिला उनका दुई ठूला छोराहरूले सोचे, बुवाबाट अब हामीलाई केही सहयोग त हुने होइन उल्टै हाम्रो स्वतन्त्रतामा बाधा चाहिँ हुन जान्छ; यो भन्दा राम्रो त अब बुवाबाट छुटकारा पाउनु नै हुन्छ । दुवैले घर छोडेर बहालको घर लिएर आफ्नो गृहस्थी बसाए ।

कान्छो छोरा अखिलेश भने अझै पनि उनको साथमा नै थियो । कान्छा छोराकी स्वास्नी पनि लोग्नेसँगै जागिर खान्थी । उनीहरूको दुई छोरा थिए, जो त्यतिबेला पढिरहेका थिए । त्यसैले उनीहरूको बाध्यता थियो । उनीहरू अफिस जान्थे र घर फर्कंदा रातै पथ्र्यो । मैथानी साहब दिनभरि घरमै हुन्थे र बच्चाहरूलाई हजुरबुवासँग बस्न सजिलो थियो । यदि उनीहरू पनि भिन्दै छुिट्टएर बस्दा केही स्वतन्त्रता त हुन्थ्यो तर त्यो भन्दा बढी समस्या र दिग्दारी हुन्थ्यो । अनि अर्को सुविधा बुवाको घर हो बहालको समस्या पनि नहुने । न पानीको, न बिजुलीको बिल तिर्ने चिन्ता, न यसो टुटे फुटेको बनाउने चिन्ता । त्यसमाथि बच्चाहरूको सानोतिनो आवश्यकता पनि हजुरबुवाबाट पूरा हुने । बच्चाहरूको रेखदेख पनि हुने । सायद यही भएर उनीहरूले बुवाबाट अलग्गै बस्ने बिचार गरेनन् ।

चराका बचेरहरू पनि त्यतिबेलासम्म मात्र आमा बुवाको गुँडमा बस्न चाहन्छन्, जबसम्म उनीहरूको प्वाँख उम्रदैन तर जब प्वाँख उम्रन्छ तब आकाशमा उड्न थाल्छन् । त्यसैले जब मैथानी साहबको कान्छो छोराको परिस्थिति अनुकुल बन्न थाल्यो । बुवासँग अलग बस्ने इच्छा पनि बलियो हुन थाल्यो । उसलाई पनि आफ्ना दाजुहरूलाई जस्तै बुवाको साथ बस्दा कोक्याउन थाल्यो । एकदिन बुवासँग प्रस्ताव राख्यो ।

‘बुवा ! केटाकेटी ठूला हुँदै छन् । उनीहरू छुट्टीको दिन बेकारमा दिनभरि यताउता चकचक गरिरहन्छन् । तपाईंलाई राम्रोसँग आराम पनि गर्न दिँदैनन् …। यदि तपाईंलाई ठीक लाग्छ भने, हामी माथिल्लो तलामा र तपाईं तल्लो तलामा आरामसँग बस्दा हुन्थ्यो कि ? ‘

मैथानी साहबले सोचे छोरा ठीकै त भन्दैछ । माथिल्लो तला खाली पनि त छदैछ । जब यिनीहरू त्यहाँ बस्छन्, त्यहाँको सर–सफाई पनि हुन्छ । बच्चाहरू पनि ठूला हुँदैछन्, तिनका साथीहरू पनि आइरहन्छन् । यिनै सबै कुरालाई विचार गर्दै उनले स्वीकृति दिए ‘ठीकै छ नि त !’

तर जब मैथानी साहबका ठूला छोराहरूले भाइको योजना थाहा पाए, उनीहरू बुवासँग आएर प्रतिरोधका स्वरमा बोले ‘अखिलेश आफ्नो परिवारको साथमा तलै बसिरहेको थियो फेरि तपाईंले माथि बस्न किन स्वीकृति दिनु भएको ? फेरि सहानुभूति पनि देखाए ‘माथिल्लो तला कसैलाई बहालमा दिनुभएको भए, तपाईंको हातमा केही पैसा त आउँँथ्यो । अखिलेशले त तपाईंलाई बहाल दिँदैन ।’

‘तिमीहरूसँग पनि त लिन्न थेंँ नि ! अखिलेशसँग किन लिनु र ?’ मैथानी साहबले पनि उनीहरू भिन्दै बसेको पीडा कम गर्दै उत्तर दिए ।

‘त्यतिबेलाको कुरा अर्कै थियो !’

‘अहिले चाहिँ के भएको छ र !’ मैथानी साहबले पनि आफ्नो मनमा गढेको कुरा पोखाए ‘मैले तिमीहरूलाई भिन्दै बस, घर छोडेर जावो भनेको थिइनँ त ! तिमीहरू आफूखुसी बहालको घरमा बस्न गएका हौ ।’

‘यहाँ समस्या भइरहेको थियो ।’

‘त्यसो भए तिमीहरू नै माथिल्लो तलामा बसेको भए पनि हुन्थ्यो नि, कसैले त रोकेको थिएन होला ।’

अब ठूला छोराहरूसँग बुवाको कुराको कुनै जवाफ रहेन । मात्र मनभरि कुण्ठा रह्यो । त्यसैले आवेशमा बोले ‘ठीकै छ ! तपाईंको घर हो । तपाईंलाई जे मन लाग्छ गर्नु ।’ अनि चेतावनी पनि दिए ‘तर पछि हामीलाई नभन्नु नि अखिलेशले यस्तो ग¥यो, उस्तो ग¥यो ।’

‘ठीक छ ! आउँदिन केही भन्न !’ भनेर मैथानी साहबले कुरा टुङ्ग्याए ।

बिस्तारै बिस्तारै सबै कुरा सामान्य हुँदै गए पछि, अखिलेश र उसकी स्वास्नीले माथिल्लो तलामा आफ्नो छुट्टै गृहस्थी बसाउनु सुरु गर्न थाल्यो । मैथानी साहबले छोरा बुहारीले भान्साको सामान किनेर ल्याएको देखेर भने ‘तिमीहरूका आमाको भान्सामा नै यी सामानहरू थियो फेरि किनेर किन पैसा खर्च गरेका ?’ बुवाको यस्तो कुरामा छोरा बुहारी केही जवाफ नदिई टार्थे । केही जवाफ नदिई माथि चढ्थे । उनीहरूको मनमा भविष्यको कस्तो योजना तयार हुँदै थियो, यो कुराको अनुमान मैथानी साहबले लगाउन सकिरहेका थिएनन् ।

माथि बस्न थालेपछि पनि उनकी कान्छी बुहारीले त्यहीँ भान्सामा खाना पकाइन् जहाँ उसकी सासूले पकाउने गर्थिन् तर जब उनले आफ्नो चाहना अनुसार भान्साकोठा तयार पारिन् एकदिन मैथानी साहब समक्ष प्रस्ताव राखिन् । ‘बुवा ! तलमाथि गर्दागर्दा खुटा दुख्न थाल्यो । यदि तपाईं मान्नुहुन्छ भने सबैको लागि खाना माथि नै बनाउँछु र तपाईंलाई तल ल्याइदिन्छु । यसरी पटकपटक तलमाथि गरिरहनु पर्दैन … तर तपाईं के भन्नु हुन्छ ?’

‘ठीकै त छ नि … यसमा मैले के भन्नु र !’ बुहारीको कष्ट महसुस गर्दै मैथानी साहबले सहमति जनाए ।

ससुराको सहमतिले बुहारीले आफ्नो सपना साकार पार्ने आवसर पाई । अब तलको साटो माथि नयाँ भान्सा बल्न थाल्यो । कान्छी बुहारीले आफ्नो लोग्ने, छोराहरूलाई माथि नै खान दिन्थी । ससुरालाई तल खाना ल्याएर दिन्थी । मैथानी साहब पहिले आफ्नो परिवारका सदस्यसँगै खाना खान्थे । नयाँ व्यवस्थाले एक्लै खान बाध्य भए । सुरुसुरुमा उनलाई यो सब मन परेन तर बाँच्नुलाई खाने पर्ने, पछि नियति मानेर चित्त बुझाए । छोराबुहारीको इच्छामा सम्झौता गर्ने बानी हुँदै ग¥यो उनको ।

अचानक एकदिन कान्छी बुहारीले उनी सामु एउटा नयाँ प्रस्ताव राखिन्— ‘बुवा ! म देखिरहेकी छु । तपाईंलाई एक्लै खान राम्रो लागिरहेको छैन । तपाईं पनि खानेबेला माथि नै आउने गर्नुस् न हामीलाई पनि तपाईंसँगै खाँदा खुसी लाग्छ ।’

यता मैथानी साहबलाई घुँडाको दुखाइले पिरोलिरहेको थियो । अखिलेशलाई कैयौँ पटक भनिसकेका थिए कि मलाई लगेर कुनै डाक्टरकोमा देखाई दे भनेर । आजआज–भोलिभोलि भन्दै महिनौँ बितिसकेको थियो तर छोराको छुट्टी मिलेको थिएन । उनलाई माथि सिँंढी चढेर जानु गाह्रो थियो तर पनि छोरा नातिहरूको मायाले स्वीकृति दिन बाध्य भयो । ‘ठीकै छ नि बुहारी ! तिम्रै इच्छा सही .. म नै माथि आउने गरुँला नि !’

समय सँगसँगै हावाको बहाव बदलिन लागेको थियो । कान्छो छोराबुहारीको आँखामा मैथानी साहबको उपस्थिति बेकारको हुन थाल्यो । उनी छोराबुहारीको लागि उपयोगको बस्तु होइन बोझ हुनपुगे । सामाजिक डरको कारण तिनीहरू प्रत्यक्ष, त्यस्तो कुनै काम गर्दैनथे जुन बुवालाई नराम्रो लागोस् तर अप्रत्यक्ष रूपले उनीहरूको व्यवहार मैथानी साहबको लागि उपेक्षा पूर्ण नै थियो । मैथानी साहबले पनि हावाको बहाव देखेका थिए । उनलाई यो महसुस हुन थाल्यो, अखिलेश र बुहारीको व्यवहारमा त्यो आफ्नोपन छैन, जुन पहिले थियो तर उनी छोराबुहारीलाई आफूलाई लागेको दुःखको आभाष दिन चाहँदैनथे ।

कान्छी बुहारीको हरेक काममा उनको लोग्ने अखिलेशको सहमति हुन्थ्यो तर पनि ऊ बुवाको सामु सिधै नआएर स्वास्नीको आडमा आफ्नो योजनाहरूलाई मूर्त रूप दिइरहेको थियो । त्यही भएर त कान्छी बुहारीले एकदिन मैथानी साहबको अगाडि आएर भनी ‘बुवा ! म देख्दैछु कि तपाईंलाई माथि चढ्न गाह्रो भइरहेको छ । के भएको छ ?’ केही थाहा नभएजस्तो गरी उसले ।

‘बुहारी ! घुँडा दुखिरहन्छ ।’

‘अनि डाक्टरलाई किन नदेखाउनु भएको ?’

‘अखिलेशलाई कैयौँ पटक भनिसकेको छु, उसलाई छुट्टी नै मिल्दैन ।’

‘म आज साँझ नै भन्छु । पहिला तपाईंलाई लगेर कुनै राम्रो डाक्टरलाई देखाएर ल्याउनु भनेर ।’

‘ठीकै छ … तर बुहारी तिमी केही भन्न आएकी हौ कि !’

‘म भन्न खोज्दै थिएँ कि, यदि तपाईंको घुँडामा दुखाई छ भने सिँढी नचढ्नुहोला । म नै तपाईंलाई खाना तल ल्याइदिन्छु ।’ गोहीको आँसु पनि बहाई हालिन् ‘हुन त तपाईं बिना खाना खाने टेबल शून्य हुन्छ … तर तपाईंको कष्ट पनि त हेर्न सक्दिन म ।’

छोराबुहारीको मनमा के पाक्दैछ । मैथानी साहबले बुझ्न सकेका थिएनन् । नयाँ प्रस्तावलाई आफ्नो घुँडाको दुखाईले गर्दा मन खिन्न पार्दै भए पनि स्वीकृति दिए । सोचे मान्छेले हरेक खुसी एकैपटक त पाउन सक्दैन नि ! जस्तो समय आउँछ त्यो त स्वीकार्नु नै छ ।

नयाँ प्रस्ताव अनुसार मैथानी साहबको लागि खाना तलै आउन थाल्यो तर त्यसमा त्यो सबै परिकार हुँदैनथ्यो जो माथिको भान्सामा पाक्थ्यो । बिस्तारैबिस्तारै खाना आउने समय पनि अनियन्त्रित हुन थाल्यो । बुहारी आफ्नो लोग्ने र छोराहरूलाई खुवाई सक्थिन् र फुर्सद भएपछि मात्र ससुरालाई खाना तल ल्याउँँथिन् । थालको खानेकुरा सबै चिसो हुन्थ्यो । कहिले कहिले त छोराहरूकै हातमा खाना पठाएर आफ्नो कर्तव्य पूरा गर्थिन् ।

बिस्तारैबिस्तारै  मैथानी  साहब आफ्नाहरूको व्यवहार हेखेर हतास हुन थाले । उनको मन नमीठोसँग दुख्न थाल्यो । यस्तो व्यवहारको प्रतिरोध गर्ने क्षमता पनि उनीसँग रहन छोड्यो । यसको परिणाम यस्तो हुन थाल्यो कि बुहारीले कहिलेकाहीँ खाना नै नल्याई अफिस जान थाली । अफिसबाट फर्केपछि मैथानी साहबले यो कुरा भन्दा बुहारी बहुरूपी बन्दै रुन्चे आवाजमा आफ्नो सफाई दिन्थी— ‘बुवा ! मबाट गल्ती हुन ग¥यो, अफिस जान ढिलो भइरहेको थियो । त्यही भएर हतारमा त्यस्तो हुन पुग्¥यो ।’ फेरि सहानुभूति देखाउँदै सोध्थी ‘तपाईंले त आज केही खानु भएको छैन होला … म अहिले बनाएर ल्याउँछु ।’

‘भैगो बुहारी … मैले ओमकारसँग पुरी मगाएर खाएँ !’

‘आज मबाट ठूलो गल्ती भयो । भविष्यमा ध्यान राख्ने छु ।’ सिँढी चढ्दै बुहारीले भनी ।

केही दिनसम्म व्यवस्था ठीकसँग चल्छ, तर धेरै दिन होइन । मैथानी साहबले सुरुमा त यही सोचे, बुहारीलाई हतार भएर यस्तो गल्ती गरेकी होली तर जब गल्तीको क्रम घट्नुको साटो बढ्नु थाल्यो । त्यसपछि बुहारीसँग गुनासो गर्ने भन्दा आआफ्नो व्यवस्था आफै गर्ने निर्णय गरे । स्थानीय टिफिनवालासँग आफ्नो लागि दुई छाकको निम्ति खाना मगाउन थाले ।

सुरुसुरुमा छोराबुहारी सबै जान्दाजान्दै अन्जान जस्तै बसे । माथिबाट तल खाना नै राख्न छोडे । दुनियाँको रिती नै त्यस्तै छ कि मान्छे आ–आफ्नो घरमा हेर्दैनन् तर अर्काको घरमा चियोचर्चा गरेर कुरा काट्न चिन्तित रहन्छन् । यस्तो अवस्थामा मैथानी साहबको घरको कुरा बाहिर कसरी नआउनु ! मैथानी साहब आफ्नो लागि टिफिन मगाउँछन् । टोल छिमेकमा चर्चाको विषय बन्यो । सबै उनको छोरा बुहारीलाई तिखो नजरले हेर्न थाले । सुरुसुरुमा त उनीहरूले यस कुरामा ध्यानै दिएनन् । तर जब अग्रवाल साहबले एकदिन उनको छोरासँग सोधे ‘के हो ? तपाईंको बुवाले किन टिफिन वालासँग खाना मगाउन थालेको ?’

‘बुवा, टिफिनवालासँग खाना मगाउनु हुन्छ मलाई त थाहा नै छैन त ।’ यति भन्दै ऊ अग्रवाल साहबसँग पिछा छुटाउँदै बुवा भएतिर आउँछ र रिस देखाउँदै भन्छ ‘बुवा ! के कुरा हो ? तपाईं घरको खाना छोडेर बाहिरबाट खाना मगाउनुहुन्छ ?’

छोराको कुरा सुनेर मैथानी साहब चुप लागेर सोच्न थाल्छन् । यो कसरी मान्नु कि घरमा स्वास्नीले आफ्नो बुवाको साथमा कस्तो व्यवहार गर्दैछे भनेर लोग्नेलाई थाहा नहोस् । लौ एकपल मानौँँ छोरालाई थाहा नै रहेनछ तर जब थाहा पायो, पहिला स्वास्नीसँग सोध्नु बुझ्नु पर्छ कि यस्तो किन भइरहेछ । अनि मात्र मलाई भन्नु पथ्र्याे । यही सोचेर उनी मौन नै बसे । बुवा चुप लागर बस्नु छोरालाई पचेन । उसले दिक्क मान्दै ठूलो आवाजमा भन्यो ‘बुवा ! मैले तपाईंसँग केही सोधेको छु, तर तपाईं केही बोल्नुहुन्न ।’

‘के भन्नु ?’

‘टिफिनवालासँग खाना किन मगाउनुभएको ?’

‘किन मगाउँछु… गएर आफ्नी स्वास्नीसँग सोध ।’

अखिलेश आफ्नी स्वास्नीमाथि लागेको आरोपको लागि बुवालाई उसको तर्फबाट कुनै सफाई दिने स्थितिमा आफूलाई पाउन सकिरहेको छैन । त्यसैले ‘तपाईंहरूको मनमा के चल्दै छ, मैले केही बुझन सकेको छैन’ भन्दै माथि चढ्यो ।

अखिलेश, टिफिनको कुरा थाहा पाएर पनि केही थाहा नपाए जस्तै अन्जान बस्यो, बुवाको खान्कीमा कुनै परिवर्तन आएन । त्यसैले मैथानी साहबले पनि समयसँग स्वयं नै सम्झौता गरे । टिफिन नियमित आउन थाल्यो तर आफूलाई भन्दा अर्कालाई दुःख दिन मान्छेलाई मज्जा आउने भएकैले त अखिलेशसँग टोलकै अर्का व्यक्त्ति कटियार साहबले फेरि सोधे ‘मैथानी साहब  टिफिनवालासँग  खाना  किन मगाउनुहुन्छ ?’ उनको प्रश्नले अखिलेश असहज बन्न पुग्छ । आधा बाटोबाटै फर्केर बुवा भएको ठाउँमा गई भन्यो ‘तपाईं आफ्नो लागि टिफिन मगाउनु हुन्छ … थाहा छ, टोलका मान्छेहरूले के भनिरहेका छन् ?’

‘मलाई के थाहा मान्छे के भन्दै छन् ?’ आफ्नो रिस पनि पोखे ‘म त टोलका कसैको घरमा जान्नँ !’

‘तपाईंलाई थाहा छैन भने जान्ने कोसिस गर्नुपर्छ ।’

‘के जान्न कोसिस गर्नुपर्छ ?’

‘टोलवासीहरू तपाईंको परिवारको बारेमा के सोचिरहेका छन भन्ने कुरा !’

‘सोच्ने सबै काम मेरो मात्र हो ? तिमीहरूको चाहिँं होइन ?’

‘त्यसो भए ठीक छ …भोलिदेखि टिफिनवालालाई भनिदिनु, अबदेखि खाना नल्याउनु भनेर ।’

‘त्यसो भए म भोकै बस्नु ?’

‘भोकै किन बस्नु, जसरी पहिला माथिबाट खाना आउँथ्यो, त्यसरी नै आउँछ अब ।’

‘यदि त्यस्तो हुँदो हो त टिफिन किन मगाउँथे ?’ साथ साथै मैथानी साहबले आफ्नो अन्तिम निर्णय सुनाए ‘यदि तँलाई टोलबासीको त्यस्तो नै डर छ भने, तँ पनि तेरो दाजुहरूजस्तै बहालको घरमा बस्न जा ! म अब त्यही गर्छु, जे मलाई सही लाग्छ ।’

अनुवादक: रीता ताम्राकार

 



प्रतिक्रिया दिनुहोस्