काठमाडौं, २९ चैत्र । गएराति सिराहाको लाहानमा सुनचाँदी व्यवसायीको हत्या भएको छ । राति १ बजे लुटेरा समूहले गोली र धारिलो हतियार प्रहार गरी प्रदीप मिझारको हत्या गरेका हुन् ।
मिझार लाहान नगरपालिका २३ स्थित वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घर भाडामा लिएर सुनचाँदी व्यवसाय गर्दै आएका थिए । लुटेरा समूह राति घरको पछाडितर्फको भागबाट भर्याङ लगाएर चटमा चढी पसेका थिए । त्यसपछि प्रतिकारका क्रममा ४५ वर्षीय मिझारमाथि गोली प्रहार भएको थियो । उनको छातिमा गोली प्रहार गरेका लुटेरा समूहले धारिलो हतियारले आक्रमण समेत गरेका थिए ।
घटनामा मिझारकी श्रीमती अनिताकुमारी दुलालमाथि समेत आक्रमण भएको छ । उनको दाहिने हातमा खुकुरी प्रहार भएको छ । दुलालको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, प्रहरीले घटनामा संलग्नहरुको पहिचान गरिसकेको छ । उनीहरुमध्ये २ जना घटनामा प्रयोग भएका सामाग्रीसहित पक्राउ परेको सिराहा प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपीहरुमा लाहानका २६ वर्षीय रामकृष्ण चौधरी र २९ वर्षीय सूर्य सहनी छन् । उनीहरु आज विहानै पक्राउ परेका थिए ।