काठमाडौं, चैत ३१ । सरकारले हालै वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्सा समावेश नगरेपछि सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा नपरेको सम्बन्धमा प्रधानमन्त्री केपी ओली शर्माले संसद्मा जवाफ दिनुपर्ने माग गरिन।
गत वर्ष नै वितरण गरिनुपर्ने सो पदक कोरोना महामारीका कारण सरकारले केही दिनअघि मात्र वितरण गरेको थियो । पदकमा पुरानै नक्सा भएको भन्दै आलोचना शुरु भएपछि सांसदहरूले पनि यसबारे प्रश्न उठाएका गरेका छन् ।
बैठकमा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर बोहराले राष्ट्रियताको विषय उठाउँदै भने– ‘चुच्चे नक्सा देखाएर राष्ट्रियतामा आक्रमण भएको छ ।’बैठकमा सांसदहरूले जनजीविका तथा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले हुम्लामा हुन सक्ने खाद्यान्न अभावदेखि अमेरिकी सहयोग परियोजना एमसीसीसम्मका कुरा उठाएका थिए । सत्तारूढ दल एमालेका सांसद खगराज अधिकारीले एमसीसीलाई संसद्को कार्यसूचीमा पारेर अघि बढाउन माग नै गरे ।
नेपाली कांग्रेसका सांसद गगन थापाले बेरोजगार युवाहरूको रोजगारीको विषयमा सरकार मौन बसेको टिप्पणी गर्दै कोभिडको प्रभावले पर्यटनलगायतका क्षेत्रमा लाखौंले रोजगारी गुमाउँदा पनि सरकार मौन रहेको बताए ।कार्यव्यवस्था परामर्श समितिमा हेरफेरसभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरूको नाम मनोनयन र हेरफेर गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट